अन्तर्राष्ट्रिय

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

संयुक्त राष्ट्रसंघले मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै मानवीय सङ्कट झन् गहिरिने चेतावनी दिएको छ।

राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ। इरानी रेड क्रिस सोसाइटीका अनुसार इरानमा २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० भन्दा बढी एम्बुलेन्स तथा स्वास्थ्य सेवा सवारी साधन क्षतिग्रस्त वा नष्ट भएका छन्। साथै केही स्वास्थ्यकर्मीको मृत्यु र घाइते भएको पनि जनाइएको छ।

यसैबीच, लेबनानमा दुई साताको अवधिमा स्वास्थ्य सेवामाथि २८ वटा आक्रमण भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। ती घटनामा कम्तीमा ३० जनाको मृत्यु र ३५ जना घाइते भएका छन्।

संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरूले प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइरहेका छन्। विश्व खाद्य कार्यक्रम, शरणार्थीसम्बन्धी एजेन्सी र बाल कोषलगायत संस्थाले ८ लाखभन्दा बढी तातो खाना वितरण गरेका छन्। साथै कम्बल, म्याट्रेस, सुत्ने म्याट र अन्य आश्रय सामग्री पनि वितरण गरिएको छ।

लेबनानको दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भइरहेका छन्। सरकारी तथ्याङ्कअनुसार ८ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख ९० हजार बालबालिका छन्।

गाजामा पनि मानवीय अवस्था अत्यन्तै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। धुलोको आँधीका कारण सयौँ आश्रयस्थलमा क्षति पुगेको छ भने हजारौँ मानिस खुला आकाशमुनि बस्न बाध्य छन्।

खाद्य आपूर्ति अवरुद्ध हुँदा गाजामा धेरै परिवारले खाना पकाउन फोहोर जलाउन बाध्य भएको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घले गाजामा नियमित रूपमा खाना पकाउने ग्यास र अन्य आवश्यक सामग्री प्रवेश गर्न दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। सिन्ह्वा

प्रकाशित: ३ चैत्र २०८२ १७:१२ मंगलबार