अन्तर्राष्ट्रिय

इरानमा अमेरिकी हमला पुष्टि गर्दै ट्रम्पले भने : वार्तामा धेरै प्रगति भएको छ

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको केश्म टापुमा अमेरिकी सेनाले सीमित हमला गरेको पुष्टि गरेका छन्। 

उनले इरानसँग भइरहेको वार्तामा पनि ‘धेरै प्रगति’ भएको दाबी गरेका छन्। फ्लोरिडाको वेस्ट पाम बीचमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकी सेनाले इरानी हवाई रक्षा प्रणालीलाई लक्षित गरी सानो र रक्षात्मक प्रकृतिको हमला गरेको बताएका हुन्।

‘हामी साना प्रहार गर्छौं। उनीहरूले विमानविरोधी उपकरण बनाएका थिए र हामीले त्यसलाई छोटो समयमै ध्वस्त पार्यौं,’ ट्रम्पले भने।

ट्रम्पको भनाइअघि इरानी सरकारी सञ्चारमाध्यमले होर्मुज जलमार्गमा रहेको केश्म टापुको सुजा क्षेत्रमा दुई वटा क्षेप्यास्त्र प्रहार भएको जनाएका थिए। इरानी सरकारी प्रसारक आईआरआईबीले केश्म टापुमाथि उडिरहेको अमेरिकी एमक्यू-९ ड्रोनलाई आफ्नो वायु रक्षा प्रणालीले खसालेको पनि जनाएको थियो।

मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधि हेर्ने अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घटनाबारे जानकारी रहेको बताउँदै त्यस क्षेत्रमा अवस्था ‘तुलनात्मक रूपमा शान्त’ रहेको जनाएको छ।

यसैबिच, ट्रम्पले अमेरिका र इरानबिच वार्ता जारी रहेको बताएका छन्। ‘हामी अहिले उनीहरूसँग कुरा गरिरहेका छौं। उनीहरू सम्झौता गर्न चाहन्छन्,’ उनले भने। उनले थपे, ‘हामीले इरानसँग वार्तामा धेरै प्रगति गरेका छौं।’

तर वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। कतारले पनि अमेरिका र इरानबिचको मध्यस्थता प्रयास जारी रहेको जनाएको छ। कतारी अधिकारीहरूले वार्ता असफल भएको भन्ने दाबीलाई अस्वीकार गर्दै तनाव थप बढ्न नदिन प्रयास भइरहेको बताएका छन्।

कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले अमेरिका र इरानबिचको अवस्था नियन्त्रणबाहिर जान नदिन मध्यस्थता भइरहेको बताएका छन्।

यसैबिच, सेन्टकमले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित जानकारीका लागि दुई करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। यसमा आणविक संरचना, उपकरण र सम्बन्धित व्यक्तिको गतिविधिबारे जानकारी दिने व्यक्तिलाई पुरस्कार तथा आवश्यक परे स्थानान्तरणको सुविधा दिने उल्लेख छ।

प्रकाशित: २१ कार्तिक २०८३ १२:०८ शनिबार