दुबईको रियल इस्टेट कम्पनी रिचकी प्रोपर्टिजले उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारी नतालिया चाभेजलाई करोडौं रुपैयाँ पर्ने लेम्बोर्गिनी उरुस उपहार दिएको छ।
दुई वर्षमा ५० करोड डलरभन्दा बढी मूल्यका घरजग्गा कारोबार गराउन सफल भएपछि कम्पनीले उनलाई उक्त लक्जरी कार उपहार दिएको हो।
कम्पनीको तेस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा चाभेजलाई २०२६ को उत्कृष्ट प्रदर्शनकर्ता घोषित गरिएको थियो। उनी ट्रफी लिएर स्टेजबाट फर्किन लाग्दा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दाबान ओथमानले रोकेका थिए।
त्यसपछि ओथमानले उनलाई अर्को सरप्राइज रहेको भन्दै स्टेजमै रोके। उल्टो गन्तीपछि रिबन काटेर निलो रंगको नयाँ लेम्बोर्गिनी उरुस सार्वजनिक गरिएको थियो। अप्रत्याशित उपहार पाएपछि चाभेज आश्चर्यचकित भएकी थिइन्। उक्त क्षणको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
चाभेजले सन् २०२६ को पहिलो त्रैमासिकमा तेस्रो स्थान हासिल गरेकी थिइन्। दोस्रो र तेस्रो त्रैमासिकमा भने उनी उत्कृष्ट प्रदर्शनकर्ता बनेकी थिइन्। समग्र वर्षको उत्कृष्ट प्रदर्शनकर्ताको उपाधिसँगै उनले समारोहमा चारवटा प्रमुख पुरस्कार प्राप्त गरिन्।
कार उपहार पाएपछि चाभेजले सामाजिक सञ्जालमार्फत कम्पनी, भगवान् र जीवनप्रति आभार व्यक्त गरेकी छन्। उनले यो उपलब्धि समर्पण, अनुशासन, निरन्तर प्रयास र अथाह मेहनतको परिणाम भएको बताएकी छन्।
उनले लेखेकी छन्, ‘म भगवान्, जीवन र रिचकी प्रोपर्टिजप्रति असाध्यै आभारी छु। हामीमाथि विश्वास गरेर आफ्ना सपना पूरा गर्ने यात्रामा सहभागी गराउनुहुने सबैलाई हृदयदेखि धन्यवाद। आज म यो ठूलो उपलब्धिको खुसी मनाइरहेकी छु। यो सफलता समर्पण, अनुशासन, निरन्तरता र अथाह मेहनतको परिणाम हो। आगामी दिनमा पनि यस्तै सफलता मिलिरहोस् र पूरा गर्न बाँकी सपना कहिल्यै नटुटून्।’
दुबईको स्थानीय बजारमा लेम्बोर्गिनी उरुसको मूल्य नौ लाखदेखि १५ लाखभन्दा धेरै दिराम (करिब तीन करोड ७२ लाखदेखि छ करोड २० लाख नेपाली रुपैयाँ) सम्म पर्दछ।
प्रकाशित: १३ कार्तिक २०८३ १९:५५ शुक्रबार