अन्तर्राष्ट्रिय

कोलम्बियाली सेनाको विमान दुर्घटना: ३४ को मृत्यु, १२१ जना सवार रहेको पुष्टि

कोलम्बियाली वायुसेनाको एक सैन्य विमान उडान भर्ने क्रममा सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। १२१ जना सवार रहेको उक्त विमान दक्षिणी अमेजन जंगल क्षेत्रको प्यूर्टो लेगुइजामोमा दुर्घटना भएको हो।

विमान उडान भरेको स्थानबाट करिब १.५ किलोमिटर टाढा जंगलमा खसेको थियो। पुटुमायो राज्यका गभर्नर जोन गेब्रियल मोलिनाले ३४ जनाको मृत्यु भएको पुष्टि गर्दै २१ जनाको पहिचान हुन बाँकी रहेको जानकारी दिए। विमानमा ११० सैनिक र ११ चालक दलका सदस्य गरी कुल १२१ जना सवार थिए।

रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार हर्कुलस सी-१३० विमान धावनमार्गबाट केही दूरीमै दुर्घटनाग्रस्त भएको थियो। घटनालगत्तै उद्धार टोली परिचालन गरिएको छ भने ८० भन्दा बढी घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘गम्भीर र कहिल्यै हुनु नपर्ने दुर्घटना’ भनेका छन्। उनले सैन्य विमानको आधुनिकीकरणमा देखिएको प्रशासनिक ढिलाइप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यदि नागरिक वा सैन्य अधिकारीहरूले आफ्नो जिम्मेवारी पुरा गर्न सकेनन् भने उनीहरूलाई पदबाट हटाइनेछ।’

राष्ट्रपति पेट्रोले सैनिकहरूको सुरक्षाका लागि नयाँ हेलिकप्टर र यातायात विमानहरू तुरुन्तै खरिद गर्नुपर्नेमा जोड दिएका छन्। सी-१३० हर्कुलस विमानलाई संसारको भरपर्दो सैन्य विमान मानिन्छ, जसले कठिन भूगोलमा पनि १९ हजार किलोसम्म सामान ढुवानी गर्न सक्छ। एजेन्सी 

प्रकाशित: १० चैत्र २०८२ ०६:५२ मंगलबार