कोलम्बियामा सोमबार गएको ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० भन्दा बढी घाइते भएका छन्। भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
कोलम्बियाली भूगर्भ सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे पश्चिमी कोलम्बियाको चोको प्रान्तस्थित सान होसे डेल पाल्मार गाउँनजिकै भूकम्प गएको हो । करिब १०३ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको भूकम्पको धक्का राजधानी बोगोटासहित देशका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो।
भूकम्पको प्रभाव छिमेकी मुलुकहरू भेनेजुएला, इक्वेडर र पानामासम्म पनि महसुस गरिएको बताइएको छ। राजधानी बोगोटामा भूकम्पको तीव्र धक्का महसुस भएपछि साइरन बजाइएको थियो भने सर्वसाधारण सावधानीका लागि सडकमा निस्किएका थिए।
अधिकारीहरूका अनुसार पछिल्लो दशकमा कोलम्बियामा रेकर्ड गरिएका भूकम्पमध्ये यो सबैभन्दा शक्तिशालीमध्ये एक हो। भूकम्पका कारण पश्चिमी क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ भने कैयौँ भवन तथा संरचना भत्किएका छन्।
भत्किएका संरचनामध्ये काली सहरको एक अस्पतालको बालरोग तथा नवजात शिशु उपचार कक्षसमेत रहेको बताइएको छ। उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्।
भूकम्पपछि कोलम्बिया सरकारले देशभर ‘राष्ट्रिय विपद्’ घोषणा गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सेना र आपत्कालीन उद्धार टोली परिचालन गरेको छ।
प्रकाशित: २६ श्रावण २०८३ १२:४६ मंगलबार