भारतको नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा आन्दोलनरत ककरोच जनता पार्टी’ (सीजेपी) ले सरकारले अघि सारेको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ।
वार्ताका लागि कसैको निवास वा कार्यालय नजाने बताउँदै सीजेपीले सरकार गम्भीर भए जन्तर-मन्तर वा आसपासको तटस्थ स्थलमा आउनुपर्ने अडान राखेको छ।
आन्दोलनको ३३ औँ दिन बुधबार हजारौं प्रदर्शनकारी जन्तर-मन्तरमा भेला भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दिल्लीका १६ वटा मेट्रो स्टेसन बन्द गरिएका छन्।
गृह मन्त्रालयको निर्देशनसँगै पश्चिम बङ्गालको कोलकाताबाट ‘सीआरपीएफ’ का करिब २ हजार जवानलाई एयरलिफ्ट गरी दिल्ली उतारिएको छ।
यसैबिच, प्रदर्शनका क्रममा ‘आरएएफ’ का जवानमाथि आक्रमण, पथराव र गाडी तोडफोड गरेको अभियोगमा दिल्ली प्रहरीले प्रदर्शनकारीविरुद्ध एफआईआर दर्ता गरेको छ।
यसैबिच, सीजेपी नेता अभिजीत दीपकेले अनशनरत सामाजिक अभियान्ता सोनम वाङचुकलाई अनशन अन्त्य गर्न अपिल गरेका छन्। ‘देशलाई उहाँको आवश्यकता छ,’ दीपकेले भने, ‘पार्टीको शान्तिपूर्ण आन्दोलन अगाडि पनि जारी रहनेछ।’
सीजेपीका प्रवक्ता सौरव दासका अनुसार भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले छलफलका लागि आफ्नो निवासमा बोलाएका थिए।
तर, सो प्रस्ताव ठुकराउँदै दासले भने, ‘हामी कसैको घर वा कार्यालय जाँदैनौं। सरकारले हाम्रा मागप्रति गम्भीरतापूर्वक वार्ता गर्न चाहेको हो वा होइन पहिले स्पष्ट पार्नुपर्छ। हजारौं मानिस आन्दोलनमा सडकमा रहेका बेला केवल औपचारिक छलफलका लागि बोलाउनुको कुनै अर्थ छैन।’
यसअघि साउन ५ मा सीजेपीले गरेको संसद् मार्चका क्रममा प्रहरीले लाठीचार्ज गर्दा कयौं प्रदर्शनकारी घाइते भएका थिए भने साउन ६ मा नेता दीपकेले सरकार आफैं वार्तामा आउनुपर्ने अडान सार्वजनिक गरेका थिए।
प्रकाशित: ६ श्रावण २०८३ १६:३२ बुधबार