अन्तर्राष्ट्रिय

जलवायु संकट पुस्ता–पुस्ताबीचको शक्ति असन्तुलनको गहिरो रूप हो : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकट शक्ति सम्बन्धको ठूलो परीक्षा भएको बताएका छन्। मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले जलवायु संकट पुस्ता–पुस्ताबीचको शक्ति असन्तुलनको सबैभन्दा गहिरो रूप भएको बताए। 

उनले एउटा पुस्ताले अर्को पुस्ताको भविष्य उपभोग गरिरहेको र नाफा कमाउने समूहको तुलनामा जलवायु संकटका लागि सबैभन्दा कम जिम्मेवार मानिसले नै यसको असर पहिले र बढी भोगिरहेको बताए। 

गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा पुगेर तीव्र गतिमा पग्लिरहेका हिमनदीबारे आफूले दिएको चेतावनी स्मरण गरे। त्यतिबेला आफूले ‘विश्वको छानो’ भत्किँदै गएको चेतावनी दिएको र कतिपयले त्यसलाई खतरा बढाइचढाइ गरिएको भन्दै बेवास्ता गरेको उनले बताए। 

तर पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, कठोर र व्यापक रूपमा देखिन थालेको उनको भनाइ थियो। 

गुटेरेसले विश्व तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसको सीमाभन्दा माथि जाने अवस्था निश्चितप्रायः रहेको बताए। उनले जलवायु संकटबाट उत्पन्न खतरा गम्भीर भए पनि स्वच्छ ऊर्जाको विकासले आशाको आधार दिएको उल्लेख गरे।  

‘पछिल्लो दशकले हाम्रो समयको सबैभन्दा आशाजनक परिवर्तनलाई अघि बढाएको छ, त्यो हो स्वच्छ ऊर्जाको उदय,’ उनले भने। 

सूर्य कसैको निजी सम्पत्ति नभएको र हावामाथि नाकाबन्दी लगाउन नसकिने उल्लेख गर्दै गुटेरेसले नवीनता जुनसुकै ठाउँबाट आउन सक्ने बताए। उनका अनुसार नवीकरणीय ऊर्जा विश्वका अधिकांश भागमा नयाँ बिजुली उत्पादनको सस्तो स्रोत बन्दै गएको छ र ऊर्जा सुरक्षा, आत्मनिर्भरता तथा दिगो विकासका लागि महत्वपूर्ण माध्यम बनेको छ। 

उनले जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको संक्रमण न्यायपूर्ण र व्यवस्थित हुनुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय सहयोगमा आधारित संक्रमण नभए मानिस र देशलाई पछाडि पार्ने अस्तव्यस्त र महँगो प्रक्रिया बन्न सक्ने उनको चेतावनी थियो। 

गुटेरेसले सबै सरकारलाई १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्यसँग मेल खाने गरी जीवाश्म इन्धनबाट टाढा जाने राष्ट्रिय योजना बनाउन आह्वान गरे। त्यस्ता योजनामा स्पष्ट समयसीमा तथा प्रभावित श्रमिक र समुदायको संरक्षणको व्यवस्था हुनुपर्ने उनले बताए। 

उनले जीवाश्म इन्धनमा आधारित स्वार्थ बोकेका पक्ष आफैं पछि नहट्ने दाबी गरे। दशकौँसम्म ठूला तेल कम्पनीहरूले वायुमण्डललाई ‘खुला ढल’ जस्तै व्यवहार गरेको र त्यसबाट उत्पन्न परिणामबाट नाफा कमाएको उनको आरोप थियो। 

रुसले युक्रेनमा आक्रमण गरेयता पाँच प्रमुख पश्चिमी तेल कम्पनीले झन्डै आधा ट्रिलियन अमेरिकी डलर नाफा कमाएको उल्लेख गर्दै उनले विकासशील देशका लागि अन्तर्राष्ट्रिय सार्वजनिक अनुकूलन कोषमा रहेको करिब ३४ अर्ब डलरसँग त्यसको तुलना गरे। 

यसैबीच सर्वसाधारणले ऊर्जा, खाद्य पदार्थ र बीमाका लागि बढी मूल्य तिर्नुपरेको उनले बताए। जलवायु संकट समाधानका लागि विगतमा सुर्तीजन्य उद्योगमाथि सरकारहरूले देखाएको जस्तै दृढता आवश्यक रहेको उनको भनाइ थियो। 

उनले सरकारहरूलाई वन विनाश रोक्न, ऊर्जा ग्रिड तथा भण्डारण क्षमतामा लगानी गर्न र उत्सर्जन कटौती गर्न आग्रह गरे। तर उत्सर्जन कटौती मात्रै पर्याप्त नहुने भन्दै उनले अनुकूलन र वित्तमा केन्द्रित जलवायु न्याय आवश्यक रहेको बताए। 

विकसित राष्ट्रहरूले आफ्ना जलवायु प्रतिबद्धता पूरा गर्नुपर्ने र अनुकूलनका लागि गरिने लगानी तीन गुणा बढाउनुपर्ने उनको माग थियो। त्यस्तै, ‘क्षति तथा नोक्सानी कोष’लाई प्रभावकारी र व्यापक रूपमा सञ्चालनमा ल्याउनुपर्ने उनले बताए। 

गुटेरेसले अति महत्त्वपूर्ण खनिजको उत्खननले विगतका असमानता थप गहिरो बनाउन नहुनेमा समेत जोड दिए। खनिज उत्पादन गर्ने देश र प्रभावित समुदायले आफ्ना स्रोतसाधनबाट सिर्जित मूल्यको ठूलो हिस्सा प्राप्त गर्न पाउनुपर्ने उनको भनाइ थियो। 

प्रकाशित: ७ आश्विन २०८३ १४:२७ बुधबार