अन्तर्राष्ट्रिय

नयाँ पुल हुँदै किम जोङ उन चीन पुगेको दाबी

फाइल तस्बिर

उत्तर कोरियाका नेता किम जोङ उन चीन भ्रमणमा गएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ।

योनहापका अनुसार किम चीन र उत्तर कोरियालाई जोड्ने नयाँ पुल पार गर्दै चिनियाँ सीमावर्ती सहर डान्डोङ पुगेका हुन्।

एजेन्सीले एक अज्ञात सरकारी स्रोतलाई उद्धृत गर्दै किम नयाँ अम्नोक नदी पुल हुँदै चीनको लियाओनिङ प्रान्तस्थित डान्डोङ पुगेको जनाएको छ। चीनमा यालु नदीका नामले चिनिने अम्नोक नदीमाथि बनेको पुलले उत्तर कोरियाको सिनुइजु सहरलाई डान्डोङसँग जोड्छ।

सन् २०१४ मा निर्माण सुरु भएको तीन हजार २६ मिटर लामो चार लेनको पुल निर्माणमा चीनले करिब ३१ करोड अमेरिकी डलर लगानी गरेको थियो। निर्माण सम्पन्न भए पनि उत्तर कोरियातर्फ सडक र भन्सारसम्बन्धी पूर्वाधार तयार नहुँदा यसको सञ्चालन १२ वर्षसम्म रोकिएको थियो। पुल यसै महिना सञ्चालनमा आएको हो।

किमको यो भ्रमण उत्तर कोरिया र चीनबिचको सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ। पछिल्ला वर्षमा किमले रुससँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएका भए पनि पछिल्लो समय चीनसँगको सहकार्य बढाउन खोजेका छन्। सन् २०२६ जुनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले प्योङयाङ भ्रमण गरी किमसँग भेट गरेका थिए। त्यस क्रममा दुवै देशले व्यापार, कृषि, निर्माण र प्रविधिमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए।

किमले यसअघि सन् २०२५ सेप्टेम्बरमा चीन भ्रमण गरेका थिए। यसपटकको भ्रमणबारे दक्षिण कोरियाको राष्ट्रपति कार्यालय र एकीकरण मन्त्रालयले तत्काल पुष्टि गरेका छैनन्। उत्तर कोरिया र चीनका सरकारी सञ्चारमाध्यमले पनि यसबारे जानकारी दिएका छैनन्।

प्रकाशित: ७ कार्तिक २०८३ १३:२५ शनिबार