अन्तर्राष्ट्रिय

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै सीजेपीको प्रदर्शन, सात सय बढीलाई हिरासतमा लिइयो

भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै ककरोच जनता पार्टी (सीजेपी) सहित विपक्षी दल र विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।

दिल्लीमा भएको प्रदर्शनका क्रममा सात सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। हिरासतमा लिइनेमा आम आदमी पार्टीका नेता, विद्यार्थी संगठनका सदस्य तथा दिल्लीका पूर्व मुख्यमन्त्री आतिशी पनि छन्। शुक्रबार जन्तरमन्तर र आसपासका क्षेत्रमा भएको प्रदर्शनमा आम आदमी पार्टीका नेता सौरभ भारद्वाज, आतिशी तथा राज्यसभा सांसद सञ्जय सिंहसहित विभिन्न विद्यार्थी संगठनका सदस्य सहभागी भएका थिए।

प्रदर्शनकारीले ज्ञानेश कुमारमाथि मतदाता नामावलीको विशेष गहन संशोधन प्रक्रियामा अनियमितता गरेको र ठुलो संख्यामा मतदाताको नाम हटाइएको आरोप लगाएका छन्। अखिल भारतीय विद्यार्थी संघ, विद्यार्थी महासंघ, राष्ट्रिय विद्यार्थी संघलगायत विद्यार्थी तथा युवा संगठनका सदस्य पनि प्रदर्शनमा सहभागी भएका थिए।

प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको भन्दै जन्तरमन्तर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। विभिन्न स्थानबाट जन्तरमन्तर पुग्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो।

यसैबिच, मुम्बईको शिवाजी पार्कमा पनि सीजेपीले ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शन गरेको छ। प्रहरीले अनुमति नदिए पनि ठुलो संख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका थिए। त्यहाँ ठुलो संख्यामा प्रहरी र सुरक्षा बल परिचालन गरिएको थियो।

सीजेपीका संस्थापक अभिजित दिप्केले महात्मा गान्धीको तस्बिर भएको टी-सर्ट लगाएर प्रदर्शनमा सहभागी भएका थिए। उनले भने, ‘जब भारतीय प्रधानमन्त्री अमेरिका भ्रमण गर्छन्, त्यहाँ भनिन्छ कि उनी गान्धीको देशबाट आएका हुन्। गान्धी देशको आत्मा हुन्, अम्बेडकर मेरुदण्ड हुन् र नेहरु मस्तिष्क हुन्।’

सीजेपीका प्रवक्ता सौरभ दासले यसअघि तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै युवाहरू सडकमा आएको उल्लेख गर्दै यसपटक पनि ज्ञानेश कुमारविरुद्ध आन्दोलन भएको बताए।

ज्ञानेश कुमारमाथि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारको पक्षमा काम गरेको आरोप पनि लाग्दै आएको छ। यसैबिच, इन्डियन एक्सप्रेसको पछिल्लो रिपोर्टमा निर्वाचन आयुक्त सुखवीर सिंह सन्धु र विवेक जोशीले विशेष गहन संशोधनसँग सम्बन्धित निर्णय र आदेशमा १० महिनाको अवधिमा कम्तीमा १४ पटक आपत्ति जनाएको कुरा बाहिर आएपछि उनीविरुद्ध विरोध थप चर्किएको हो।

यही विषयलाई लिएर सीजेपीले ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो।

प्रकाशित: १६ आश्विन २०८३ १८:५१ शुक्रबार