कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपके विमानबाटै पक्राउ परेका छन्।
मुम्बईबाट फ्लाइटमार्फत दिल्ली गएका दिपकेलाई प्रहरीले दिल्ली विमानस्थलबाट पक्राउ गरेको हो। उनीसँगै आशुतोष रान्का र सौरभ दास पनि पक्राउ परेका छन्।
उनीहरू मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआरको निलम्बनको माग गर्दै जन्तर मन्तरमा पार्टीको विरोध प्रदर्शनमा सामेल हुन आएका थिए।
यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी जनतासँग डराएको भन्दै आरोप लगाएका थिए। उनले भने, ‘हाम्रो विरोध सुरु हुनुभन्दा अगाडि नै मोदीले हार स्वीकार गरिसकेका छन्। दिल्लीमा प्रदर्शनकारीहरूमाथि ठूलो कारबाही र प्रतिबन्ध लगाउनु शक्तिको संकेत होइन, तर आफ्नै जनतासँग डराउने नेताको संकेत हो।’
यसअघि, प्रहरीले युट्युबर ध्रुव राठीलाई उनको गुरुग्राम घरबाट पक्राउ गरिएको थियो। यस्तै, राजधानीका विभिन्न स्थानहरूबाट ६०० अन्य समर्थकहरूलाई पनि पक्राउ गरिएको थियो।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा सुरक्षा कडा बनाइएको छ। यहाँको दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवा पनि रद्द गरिएका छन्।
भारतको सर्वोच्च अदालतले भने सबै मेट्रो स्टेसन एकैपटक बन्द नगर्न र केही रेल सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ।
सीजेपीले देशभर कम्तीमा १० हजार समर्थकलाई नियन्त्रणमा लिइएको आरोप लगाएको छ। प्रहरीले यस आरोपबारे विस्तृत प्रतिक्रिया दिएको छैन।
सन् २०२५ मा सुरु भएको मतदाता नामावली पुनरावलोकनका क्रममा प्रारम्भिक सूचीबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएको बताइएको छ।
यस घटनाले भारतमा निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदान अधिकारसम्बन्धी बहसलाई थप चर्काएको छ।
प्रकाशित: २४ आश्विन २०८३ १२:०९ शनिबार