दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङमा एक प्रमुख सैन्य परेड आयोजना गर्दैछ।
देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडमा, चिनियाँ राष्ट्रपति सी चिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलगायत विश्व नेताहरूलाई स्वागत गर्नेछन्।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो कार्यक्रम बुधबार बिहान ९ बजे (नेपाली समयानुसार पौने ७ बजे बिहान) सुरु हुनेछ।
उत्तर कोरियाली नेता किम मंगलबार विशेष रेल हुँदै चीन आइपुगेका थिए। ६६ वर्षमा उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा भाग लिएको यो पहिलो पटक हो। चीनमा भएको सैन्य परेडमा भाग लिने अन्तिम उत्तर कोरियाली नेता उत्तर कोरियाका संस्थापक तथा किमका दिवंगत हजुरबुवा किम इल सुङ थिए। उनले सन् १९५९ मा भाग लिएका थिए।
बेइजिङमा हुने कार्यक्रममा दुई युरोपेली नेता, स्लोभाकियाली प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाली राष्ट्रपति अलेक्जान्डर भुचिक मात्र उपस्थित हुने तय भएको छ।
स्लोभाकिया युरोपेली संघ र नेटोको हिस्सा भए पनि, फिकोले रुससँग घनिष्ठ सम्बन्धको लागि जोड दिएका छन्। उनले डिसेम्बर २०२४ मा पुटिनसँग वार्ताको लागि मस्कोको भ्रमण गरेका थिए।

फिको जस्तै भुचिकले पनि युक्रेनमा भएको युद्धलाई लिएर रुस विरुद्धको प्रतिबन्धको आलोचना गर्दै आएका छन्। हालै मस्कोको भ्रमण गरेका छन्।
चीनले किन विजय दिवस ‘परेड’ मनाउँछ ?
सन् १९३९ मा पोल्याण्डमा जर्मन आक्रमण, जसको परिणामस्वरूप बेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्धको घोषणा गरेका थिए। पश्चिममा सामान्यतया दोस्रो विश्वयुद्ध सुरु भएको बिन्दु त्यसलाई नै मानिन्छ। तर, त्यतिबेलासम्म एसियाले धेरै वर्षदेखि जापानी आक्रमणको मार खेपिरहेको थियो।
सन् १९३१ मा मन्चुरियाको आक्रमणपछि जापानी र चिनियाँ सेना मुख्यतया चियाङ काई–सेकको कुओमिन्ताङ (केएमटी) र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) लडाँईका श्रृंखलामा संलग्न भए। तर त्यतिबेला केएमटी र सीसीपी पनि चीनको नियन्त्रणको लागि आफ्नै गृहयुद्धको पहिलो चरणमा फसेका थिए, र जापानले ठूलो प्रगति हासिल गर्यो।
त्यसपछि जुलाई १९३७ मा जापानी र चिनियाँ सेना बेइजिङ बाहिर भिड्न थाले। केही दिनमै यो पूर्ण रूपमा विकसित द्वन्द्वमा परिणत भयो। त्यतिन्जेलसम्म केएमटी र सीसीपीले जापानविरुद्ध संयुक्त मोर्चामा सहमति जनाएका थिए। जुन १९४५ मा युद्धको अन्त्यसम्म रह्यो।
जापानी सेनाले नान्जिङलगायत पूर्वी सहरमा आक्रमण गर्न थाल्यो। हजारौँ नागरिकको हत्या गरियो भने गाउँ ध्वस्त पारिएका थिए। महिलालाई बलात्कारसम्म गरेको आरोप छ। तर सीसीपी र केएमटीले प्रतिरोध गर्न जारी राखे। केही अनुमान अनुसार युद्धको परिणामस्वरूप दुई करोड चिनियाँ मारिए, जसमध्ये अधिकांश सर्वसाधारण नै थिए।
सन् १९४१ मा डेमोक्रेटिक राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले जापानमाथि तेल प्रतिबन्ध लगायो। डिसेम्बर १९४१ मा जापानी सेनाले हवाईको पर्ल हार्बरमा रहेको अमेरिकी प्रशान्त बेडामाथि अचानक आक्रमण गर्यो। त्यसको क्षति र हताहत धेरै भयो अनि अमेरिका पनि युद्धमा होमियो।
सन् १९४० को दशकमा जापानले एसियाली देशका अन्य भाग पनि कब्जा गर्यो। जसमा आधुनिक इन्डोनेसिया, मलेसिया र म्यानमारका केही भाग र वर्तमान भारतका केही भाग समावेश थिए।
सन् १९४५ मा अमेरिकी वायु सेनाले जापानी सहर हिरोसिमामा र तीन दिनपछि नागासाकी सहरमा परमाणु बम खसालेको थियो। त्यसपछि सोभियत संघ (वर्तमान रुस) ले पनि जापान विरुद्ध युद्धको घोषणा गर्यो।
सेप्टेम्बर २ मा जापानले औपचारिक रूपमा आत्मसमर्पण गर्यो।
सीसीपी र केएमटीले आफ्नो गृहयुद्ध पुनः सुरु गरे। फलरुवरुप माओ त्सेतुङको नेतृत्वमा रहेको कम्युनिष्ट सन् १९४९ मा विजयी भयो। अर्कोतिर चियाङ र उनका बाँकी केएमटी सेनाले ताइवान भागेर त्यहाँ समानान्तर सरकार स्थापना गर्यो।
सन् २०१४ मा चीन सरकारले जापानको आत्मसमर्पणको भोलिपल्ट सेप्टेम्बर ३ लाई विजय दिवसका रूपमा घोषणा गरेको थियो।
सन् २०१५ मा सीसीपीले युद्धको समयमा केएमटी सिपाहीले गरेको बलिदानलाई स्वीकार गर्यो। त्यतिबेलाका सैनिक मार्चमा भाग लिन दिग्गजलाई आमन्त्रित समेत गरिएको थियो। त्यतिबेला ताइवानमा केएमटीको शासन थियो, जसले ऐतिहासिक तनावको बाबजुद पनि लामो समयदेखि सीसीपीको अधीनमा रहेको मुख्य भूमि चीनसँग घनिष्ठ सम्बन्ध खोज्दै आएको छ।
यद्यपि सन् २०१६ देखि ताइवानमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले शासन गर्दै आएको छ। डीपीपीले स्वशासित क्षेत्रको सार्वभौमिकताको बारेमा विशेष जोड दिँदै आएको छ। ताइवानलाई मुख्य भूमिसँग पुनर्मिलन गर्नुपर्छ भन्ने कुरामा जोड दिने चीनले डीपीपीको आलोचना गर्छ।
त्यस पृष्ठभूमिमा बुधबारको परेडले जापानलाई पराजित गर्न सीसीपीको भूमिकालाई उजागर गर्ने अपेक्षा गरिएको छ।
-एजेन्सीको सहयोगमा
प्रकाशित: १७ भाद्र २०८२ २०:५२ मंगलबार