इरानको प्रमुख व्यापारिक साझेदार चीनले युद्धविरामका लागि तेहरानमाथि दबाब बनाएको दाबी गरिएको छ।
एपीका अनुसार सार्वजनिक रूपमा बोल्न अनुमति नपाएका अधिकारीहरूका अनुसार बेइजिङले पाकिस्तानसँग मिलेर आफ्नो प्रभाव प्रयोग गरेको थियो। चीनले इरानलाई युद्धविराम प्रस्ताव स्वीकार गर्न र लचकता देखाउन आग्रह गरेको थियो।
यसअघि चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सबै पक्षहरूले इमानदारी प्रदर्शन गर्नुपर्छ र यो युद्ध चाँडै अन्त्य गर्नुपर्छ जुन सुरुमा हुनुहुँदैन्थ्यो भनेकी थिइन्। उनले यो द्वन्द्वले विश्व अर्थतन्त्र र ऊर्जा सुरक्षामा पार्ने प्रभावप्रति चीन गहिरो चिन्तित रहेको भनेकी थिइन्।
हालै चीनले पाकिस्तानसँग मिलेर पाँच बुँदे शान्ति योजना बनाउने कुरामा सहयोग गरेको थियो। पाँच बुँदामा तत्काल युद्धविराम, होर्मुज जलमार्ग खोल्ने र वार्ता प्रक्रिया समावेश थियो। इरानले चीन र पाकिस्तानको आग्रहपछि दुई हप्ताको युद्धविराम स्वीकार गरेको हो। चीनले सार्वजनिक रूपमा द्वन्द्व तत्काल रोक्न र राजनीतिक समाधान खोज्न जोड दिँदै आएको थियो।
बुधबार अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत भएका छन्। यस सम्झौतामा रणनीतिक महत्त्वको होर्मुज जलमार्ग पुन: खोल्ने विषय मुख्य सर्त रहेको छ। यसमा इरान र ओमानलाई उक्त मार्गबाट जाने जहाजहरूसँग शुल्क उठाउन अनुमति दिइने भएको छ। यसअघि अन्तर्राष्ट्रिय जलमार्ग मानिने यो क्षेत्रमा कहिल्यै शुल्क तिरिएको थिएन। इरानले सो रकम पुनर्निर्माणमा खर्च गर्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा इरानको योजनालाई ‘कार्यक्षम’ भने पनि पछि त्यसलाई ‘धोखाधडी’को संज्ञा दिए। यसअघि उनले इरानले सम्झौता नगरे ‘आज राति एउटा सम्पूर्ण सभ्यता मर्नेछ फेरि कहिल्यै फिर्ता ल्याइने छैन’ भन्दै धम्की दिएका थिए। उनको यो धम्कीको अमेरिका भित्रै र अन्तर्राष्ट्रिय स्तरमा समेत आलोचना भयो।
इरानको १० बुँदे सर्त के छन्?
इरानले अमेरिकाको प्रस्तावित १५ बुँदे युद्धविराम योजनालाई अस्वीकार गर्दै आफ्नो १० बुँदे प्रस्ताव पेश गरेको थियो। पाकिस्तानको मध्यस्थतामा पठाइएको यो प्रस्तावलाई इरानले ‘स्थायी शान्ति’ को आधार बनाउन माग गरेको छ। मुख्य बुँदाहरू यस प्रकार छन्:
१. युद्धको स्थायी अन्त्य (अस्थायी युद्धविराम होइन)।
२. इरानमाथि भविष्यमा कुनै आक्रमण नहुने लिखित सुरक्षा ग्यारेन्टी।
३. लेबनानमा इजरायली हमला र इरान समर्थक समूह (जस्तै हिजबुल्लाह) माथिको आक्रमण रोक्ने।
४. इरानमाथि लगाइएका सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध तत्काल हटाउने।
५. होर्मुज जलमार्गमा सुरक्षित र नियन्त्रित आवागमनको प्रोटोकल (इरानी सेनाको समन्वयमा)।
६. जलमार्गबाट जाने जहाजबाट शुल्क उठाउने (इरान र ओमानबिच बाँडफाँड)।
७. शुल्कबाट प्राप्त रकम युद्धबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा खर्च गर्ने।
८. क्षेत्रीय द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्ने।
९. अमेरिकी सेना फिर्ता र क्षेत्रीय शक्ति सन्तुलनको मान्यता।
१०. इरानको आणविक कार्यक्रम (युरेनियम संवर्धन) लाई स्वीकार गर्दै दीर्घकालीन समाधान।
यो प्रस्तावलाई इरानले ‘वार्ताको आधार’ बनाउनुपर्ने माग गरेको छ।
अमेरिकाको दाबी के छ?
ट्रम्प प्रशासनले इरानको १० बुँदे प्रस्तावलाई ‘कार्यक्षम आधार’ मानेको दाबी गरेको छ। अमेरिकाले ‘विगतका अधिकांश विवादित विषयमा सहमति भइसकेको छ, दुई हप्ताको युद्धविरामले अन्तिम सम्झौता गर्न मद्दत गर्नेछ’ भनेको छ। युद्धविरामको मुख्य सर्त होर्मुज पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्नु हो।
ह्वाइट हाउसले यो युद्धविराममा इजरायल पनि समावेश भएको दाबी गरेको छ। अमेरिकाले अब हुने वार्तामा इरानलाई आणविक सामग्री हटाउने, युरेनियम संवर्धन बन्द गर्ने तथा ब्यालिस्टिक क्षेप्यास्त्र खतरा हटाउन माग गर्ने विश्वास इजरायललाई दिलाएको छ।
इरानको दाबी के छ?
इरानले अमेरिकाले आफ्नो १० बुँदे सर्तको ‘सामान्य ढाँचा’ स्वीकार गरेको दाबी गरेको छ। तेहरानका अनुसार यो युद्धविराम केवल अस्थायी हो, युद्धको स्थायी अन्त्य होइन। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले ‘वार्ता इरानको प्रस्तावमा आधारित हुनेछ’ भनेको छ। इरानले होर्मुजमा ‘नियन्त्रित आवागमन’ मात्र सहमत भएको र थप वार्ताबाट आफ्ना माग पूरा हुने विश्वास गरेको छ।
मध्य पूर्वको पछिल्लो अवस्था
एपीका अनुसार दुई हप्ताको युद्धविराम बुधबार घोषणा भए पनि पूर्ण कार्यान्वयन कहिले सुरु हुन्छ भन्ने स्पष्ट छैन। पाकिस्तानका अनुसार यो युद्धविराम इजरायल–लेबनान (हिजबुल्लाह) द्वन्द्वमा पनि लागू हुनेछ। तर इजरायली पक्षले अस्वीकार गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको युद्धविराममा लेबनान समावेश नभएको बताएका हुन्। युद्धविरामपछि पनि इरान र इजरायलबिच केही हमला जारी रहेको छ।
पाकिस्तानले स्थायी शान्तिका लागि वार्ता इस्लामाबादमा शुक्रबार (१० अप्रिल) देखि सुरु हुने जनाइएको छ। पाकिस्तानले दुवै पक्षलाई आमन्त्रण गरेको छ। युद्धविराम भएको खबरले विश्व बजारमा तेलको मूल्य घटेको छ भने सेयर बजार पनि उकालो लागेको छ। चीन र पाकिस्तानले मध्यस्थता जारी राखेका छन्।
दीर्घकालीन समाधानका लागि इस्लामाबाद वार्ताले थप स्पष्टता दिनेछ। यद्यपि दुवै पक्षबिच विश्वासको कमी कायम छ र क्षेत्रीय तनाव पूर्ण रूपमा घटिसकेको छैन। एजेन्सी
प्रकाशित: २५ चैत्र २०८२ ०९:१६ बुधबार