अन्तर्राष्ट्रिय

चीनको ‘के भिसा’ : अमेरिकी एच-१बी भिसालाई खुला चुनौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-१बी भिसाको शुल्क बढाएर एक लाख डलर पुर्‍याएका छन्। यसबाट विश्वभरका दक्ष कामदारलाई असर गरेको छ। यसैबिच चीनले अवसर देखेर ‘के भिसा’ नामक नयाँ भिसा सुरु गर्ने घोषणा गरेको छ। यो भिसा अक्टोबर १, २०२५ देखि लागू हुनेछ।

‘के भिसा’ किन फरक ?
चीनको ‘के भिसा’ अन्य १२ भिसा श्रेणीभन्दा लचिलो छ। यसले प्रवेश, निकास, वैधता अवधि र बसाइमा सहजता दिन्छ। हालका आर र जेड भिसाले क्रमशः १८० दिन र एक वर्षसम्म बस्न अनुमति दिन्छ। तर ‘के भिसा’ले लामो समयसम्म बस्न सकिन्छ। यसले विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणीत (एसटीइएम) क्षेत्रमा काम गर्ने युवा पेशेवर, अनुसन्धानकर्ता र उद्यमीलाई आकर्षित गर्न ल्याएको हो।

‘के भिसा’ कसले पाउँछ ?
चीनको न्याय मन्त्रालयका अनुसार यो भिसा प्रतिष्ठित विश्वविद्यालय वा अनुसन्धान संस्थानबाट एसटीइएम डिग्री हासिल गरेका युवा वैज्ञानिक र प्राविधिकलाई दिइनेछ। आवेदकले तोकिएको योग्यता र कागजात पेश गर्नुपर्छ। भिसा प्राप्त गर्न स्थानीय कम्पनीको प्रायोजन (स्पोन्सर) आवश्यक पर्दैन, जसले प्रक्रियालाई थप सरल बनाउँछ।

‘के भिसा’का विशेषता
यो भिसाले धेरै पटक प्रवेश, लामो वैधता र बसाइ अवधि प्रदान गर्छ। धारकले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि र उद्यमशीलतामा संलग्न हुन सक्छन्। प्रायोजनको आवश्यकता हटाइएको छ, जसले युवा पेशेवरलाई सहज हुन्छ।

चीनले यो भिसामार्फत अमेरिकाको एच-१बी भिसासँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ। अमेरिकाले शुल्क बढाएर कडाइ गरेपछि चीनले खुला नीति अपनाएर विश्वभरका दक्ष पेशेवरलाई स्वागत गर्न खोजेको देखिन्छ। एजेन्सी

प्रकाशित: ७ आश्विन २०८२ ११:४७ मंगलबार