इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेला चीनले त्यसको विरोध गरेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी एयरलाइन्सलाई विश्वभर सञ्चालन गर्न कठिन हुने चेतावनी दिएको भोलिपल्ट चीनले अमेरिकी कदमलाई ‘अवैध एकपक्षीय प्रतिबन्ध’ भनेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अनुमतिबिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्दै आएको बताए।
उनको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबारदेखि हुने शिखर वार्ताअघि आएको हो।
बेसेन्टले सेप्टेम्बर २३ देखि इरानी विमानलाई इन्धन, अवतरण सेवा वा टिकट उपलब्ध गराउने कम्पनी अमेरिकी डलर प्रणालीबाट अलग हुने जोखिममा पर्ने बताएका थिए।
अमेरिकाले यसै महिना बाँकी इरानी एयरलाइन्समाथि समेत प्रतिबन्ध लगाएको छ। इरानको उड्डयन क्षेत्रलाई सहयोग गर्ने इरानबाहिरका कम्पनी तथा संस्थालाई पनि प्रतिबन्धको दायरामा राखिएको छ।
अमेरिका र इरानबीच फेब्रुअरीको अन्त्यदेखि जारी द्वन्द्वका क्रममा अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता र वरिष्ठ सैन्य अधिकारी मारिएपछि तनाव बढेको थियो।
त्यसपछि इरानले ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण हर्मुजको जलमार्ग अवरुद्ध गरेपछि विश्व बजारमा तेलको मूल्य बढेको छ।
बेसेन्टको पछिल्लो भनाइ चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग आर्थिक विषयमा छलफल गरेको भोलिपल्ट आएको हो।
चीन इरानको प्रमुख आर्थिक साझेदार तथा कूटनीतिक समर्थक हो। इरानको उड्डयन क्षेत्रले लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण विमान, स्पेयर पार्टपुर्जा र मर्मतसम्भारका सामग्री तथा सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएको छ।एएफपी
प्रकाशित: ६ आश्विन २०८३ १८:३७ मंगलबार