अन्तर्राष्ट्रिय

अनिल अम्बानीको घर-कार्यालयमा सिबिआईको छापा

२ हजार करोडको ऋण घोटाला प्रकरणमा मुद्दा दर्ता

भारतीय केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) ले प्रसिद्ध उद्योगपति अनिल अम्बानीविरुद्ध बैंक धोखाधडीको आरोपमा मुद्दा दर्ता गरेको छ।

स्टेट बैंक अफ इन्डिया (एसबीआई) बाट लिएको करिब दुई हजार करोड भारु ऋण धोखाधडी गरेको आरोपमा सिबिआईले अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्सविरुद्ध मुद्दा दर्ता गरेको हो।

यसै सिलसिलामा शनिबार सिबिआईको टोलीले अम्बानीको मुम्बईस्थित निवास र उनीसँग सम्बन्धित विभिन्न कार्यालयहरूमा एकसाथ छापा मारेको छ।

केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीले लोकसभामा दिएको जानकारीअनुसार एसबीआईले अम्बानी र उनको कम्पनी आरकमलाई ‘धोखाधडी’ घोषणा गरिसकेको छ। साथै, बैंकले अम्बानीविरुद्ध व्यक्तिगत रूपमा टाट पल्टाउने प्रक्रियासमेत मुम्बईस्थित नेशनल कम्पनी ल ट्रिब्युनल (एनसीएलटी) मा अघि बढाएको छ।

के हो घटना ?

घटना सन् २०१७ देखि २०१९ को बीचमा यस बैंकले अम्बानीको समूहलाई दिएको करिब २,००० करोड रुपैयाँको ऋणसँग जोडिएको छ। कम्पनीले उक्त ऋण समयमा नतिरेको र ऋणको रकम जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा प्रयोग नगरी अन्यत्र लगानी गरेर नियम उल्लंघन गरेको सिबिआईको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

एसबीआईको आरोपअनुसार आरकमले बैंकबाट लिएको कुल ३१,५८० करोड ऋणको दुरुपयोग गरेको थियो। जसमध्ये करिब १३,६६७ करोड अन्य कम्पनीको ऋण तिर्न र १२,६९२ करोड रिलायन्स समूहकै अरू कम्पनीहरूलाई दिन प्रयोग गरिएको थियो।

यो अम्बानीमाथि भएको पहिलो कारबाही भने होइन। यसअघि गत जुलाई २३ मा प्रवर्तन निर्देशनालय (इडी) ले पनि अम्बानी समूहसँग सम्बन्धित ३५ भन्दा बढी स्थानमा छापा मारेको थियो।

त्यो कारबाही यस बैंकसँग जोडिएको तीन हजार करोड रुपैयाँको ऋण घोटाला प्रकरणमा केन्द्रीत थियो। सिबिआईले त्यसअघि नै रिलायन्स होम फाइनान्स र रिलायन्स कमर्सियल फाइनान्सलाई दिइएको ऋणबारे दुई छुट्टाछुट्टै मुद्दा दर्ता गरिसकेको थियो।

प्रकाशित: ७ भाद्र २०८२ १५:३५ शनिबार