अन्तर्राष्ट्रिय

नेतान्याहुको दबाबमा ट्रम्पले इरानमा परमाणु हमला गर्न सक्ने कार्लसनको दाबी

अमेरिकी सञ्चारकर्मी टकर कार्लसनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दबाबमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि परमाणु हमला गर्न सक्ने दाबी गरेका छन्।

ट्रम्पका कुनै समय निकट सहयोगी रहेका कार्लसनले यस्तो दाबी गरेका हुन्। उनले सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अमेरिकी प्रशासनले नोभेम्बर ३ मा हुने मध्यावधि चुनावपछि नोभेम्बर ७ भित्र परमाणु हतियार प्रयोग गर्ने वा नगर्ने निर्णय लिन सक्ने बताएका छन्।

उनका अनुसार नेतान्याहुले इरानमाथि थप सैन्य कारबाही गर्न ट्रम्पलाई निरन्तर दबाब दिइरहेका छन्। इरानको मध्य क्षेत्रमा रहेको पिक्याक्स माउन्टेनलाई सम्भावित निशाना बनाउने तयारी भइरहेको उनको दाबी छ। त्यहाँ इरानले आणविक युरेनियम प्रशोधन कार्यक्रम पुनः सुरु गरेको इजरायली गुप्तचर निकायको दाबी रहेको उनले उल्लेख गरेका छन्।

कार्लसनका अनुसार उक्त स्थानमा जमिनमुनि ३०० फिटभन्दा बढी गहिराइमा ग्रेनाइट चट्टानले ढाकिएका सुरुङ छन्। अमेरिकी परम्परागत हतियारले त्यहाँसम्म पुग्न नसक्ने भएकाले परमाणु हमला नै सैन्य विकल्प हुन सक्ने उनको भनाइ छ। 

यसैबिच, ट्रम्पले शनिबार इरानका एक-दुई आणविक स्थलमा आक्रमण गर्न सकिने बताएका थिए। फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘हामीले उनीहरूको आणविक कार्यक्रम ध्वस्त पारेका छौँ। अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ।’

नेतान्याहुले ट्रम्पलाई यस विषयमा दैनिक फोन गर्ने गरेको एक जानकार व्यक्तिलाई उद्धृत गर्दै कार्लसनले लेखेका छन्। अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र सेन्ट्रल कमान्डका प्रमुख ब्राड कुपर पनि थप सैन्य कारबाहीको पक्षमा रहेको उनको आरोप छ। विदेशमन्त्री मार्को रुबियो र सीआईए प्रमुख जोन र्‍याटक्लिफसमेत नेतान्याहुको पक्षमा रहेको उनको दाबी छ।

कार्लसनले नेतान्याहुको दबाबको पछाडि इजरायलको आन्तरिक राजनीतिक संकट रहेको बताएका छन्। पछिल्लो निर्वाचनपछि ६१ सिटको समर्थन जुटाउन नसके नेतान्याहुले सरकार बनाउन नसक्ने अवस्था रहेकाले उनी ट्रम्पसँग निकट रहन र इरानसँगको युद्ध जारी राख्न चाहिरहेको उनको आरोप छ।

उनका अनुसार नेतान्याहुले सेप्टेम्बर २७ मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर इरानमाथि अन्तिम सैन्य कारबाहीका लागि समर्थन जुटाउन खोजेका थिए। तर, यूएईले त्यसलाई अस्वीकार गरेको उनले बताएका छन्।

कार्लसनले इरानसँगको द्वन्द्वले खाडी मुलुकको अर्थतन्त्र, विश्व ऊर्जा बजार र मल आपूर्तिमा असर पारिरहेको बताएका छन्। अक्टोबरमा मात्रै होर्मुज क्षेत्रमा तेल ढुवानी गर्ने ११ वटा ठूला ट्यांकरमा गम्भीर क्षति पुगेको उनको दाबी छ।

उनले इरानमाथि परमाणु हमला भए त्यसबाट निस्कने विकिरणले पर्सियन खाडीको पानी दूषित बनाउने र करिब १० करोड मानिसको खानेपानी प्रभावित हुने चेतावनी दिएका छन्। यस्तो हमलाले रुस, भारत, पाकिस्तान र उत्तर कोरियासमेत परमाणु हतियार प्रयोग गर्न प्रेरित हुन सक्ने र तेस्रो विश्वयुद्धको जोखिम बढ्ने उनको भनाइ छ।

कार्लसनका अनुसार ट्रम्पले अहिलेसम्म परमाणु हमला गर्ने निर्णय गरिसकेका छैनन्। उपराष्ट्रपति जेडी भान्स र विशेष दूत स्टिभ विटकफले भने इरानसँग वार्तामार्फत सम्झौता गर्न सकिने सुझाव दिइरहेका छन्। कार्लसनले थप युद्धको सट्टा कूटनीतिक समाधान खोज्नुपर्ने बताएका छन्।

ट्रम्पका पूर्वनिकट सहयोगी कार्लसन पछिल्लो समय इरानसँगको अमेरिकी युद्ध र ट्रम्प प्रशासनको विदेश नीतिको आलोचना गर्दै आएका छन्।

प्रकाशित: १६ कार्तिक २०८३ ०९:२६ सोमबार