अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीको संसद्‌मा कामसूत्र जोक : ‘कामसूत्रभन्दा बढी पोजिसन’ भनेपछि विवाद

बेलायती प्रधानमन्त्री केयर स्टारमरले बुधबार संसद्को प्रश्नोत्तर समयमा विपक्षी कन्जरभेटिभ पार्टीमाथि ठट्टा गर्दै कामसूत्रको उल्लेख गरेपछि विवादमा आएका छन्।

कन्जरभेटिभ नेतृ केमी बाडेनकले सरकारको बारम्बार हुने नीति परिवर्तनमाथि प्रश्न उठाएपछि जवाफ दिँदै उनले भनेका थिए, ‘१४ वर्षमा उनीहरू(विपक्षी)ले कामसूत्रभन्दा धेरै पोजिसन (पद) पाएका थिए। उनीहरू थाकेका छन् भन्ने कुरामा कुनै आश्चर्य छैन, उनीहरूले देशलाई ध्वस्त बनाएका छन्।’

यो भनाइपछि सदन क्षणभर स्तब्ध भयो।

धेरैले यो ठट्टालाई अनुपयुक्त, असंवेदनशील र संसद्को गम्भीर माहोलमा मजाक गरेको भन्दै आलोचना गरेका छन्। विपक्षी दलले प्रधानमन्त्रीले संसद् र जनताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्। कमेडियनहरूले पनि यसलाई ‘खराब’ र ‘पुरानो’ जोक भनेका छन्।

यो विवाद यस्तो बेला आएको छ जब लेबर सरकार बारम्बार नीति उल्ट्याउने गरेको आरोपका कारण दबाबमा छ। विशेष गरी डिजिटल आईडी योजनामा परिवर्तन भएको छ। यो योजना सेप्टेम्बर २०२५ मा ल्याइएको थियो, जसले काम गर्ने अधिकार प्रमाणित गर्ने उद्देश्य राखेको थियो। सुरुमा अनिवार्य बनाउने योजना थियो। तर जनता र विपक्षीको कडा विरोधपछि सरकारले पछि हट्नुपरेको हो।

मानिसहरूले यसले व्यक्तिगत जानकारीमा सम्झौता हुने, खोप स्थिति, कार्बन फुटप्रिन्ट र यात्रा इतिहास निगरानी गर्ने डर व्यक्त गरेका छन्। यसले आवश्यक सेवाहरू र आवागमन स्वतन्त्रतामा असर पार्न सक्ने चिन्ता गरिएको छ।

प्रकाशित: ३ माघ २०८२ १०:४४ शनिबार