बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम युक्रेनको राजधानी कीभ पुगेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
युक्रेनको ३५औं स्वतन्त्रता दिवसका अवसरमा उनी कीभ पुगेका हुन्। उनलाई युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले स्वागत गरे। भ्रमणका क्रममा बर्नह्यामले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उत्पादन गर्न सहयोग गर्ने घोषणा गर्नेछन्। बेलायती सरकारले युरोपेली रक्षा कम्पनी एमबीडीएलाई लामो दूरीको एससीएएलपी क्षेप्यास्त्रमा प्रयोग भएका बेलायती पार्टपुर्जासम्बन्धी केही गोप्य जानकारी सार्वजनिक गर्न अनुमति दिने भएको छ।
यसले फ्रान्स र युक्रेनलाई युक्रेनमै एससीएएलपी क्षेप्यास्त्रको एसेम्बली लाइन स्थापना गर्न सहयोग पुग्ने बेलायत सरकारले जनाएको छ। एससीएएलपी फ्रान्समा उत्पादन हुने क्षेप्यास्त्र हो भने बेलायतको स्टोर्म स्याडोसँग यसको प्रविधि मिल्दोजुल्दो छ। बेलायतको यो कदम युक्रेनलाई आफ्नै लामो दूरीका क्षेप्यास्त्र उत्पादन गर्न सक्षम बनाउने दीर्घकालीन योजनाको एउटा हिस्सा हो। बेलायतले यसअघि पनि युक्रेनलाई लामो दूरीका आक्रमणकारी हतियार उपलब्ध गराउने पश्चिमी देशमध्ये अग्रणी भूमिका खेलेको थियो।
बर्नह्यामले कीभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ। उनले युक्रेनलाई सहयोग गर्ने देशहरूको ‘इच्छुकहरूको गठबन्धन’ अर्थात् ‘कोएलिसन अफ द विलिङ’ को बैठकको सहअध्यक्षता पनि गर्नेछन्। बैठकमा युक्रेनको सुरक्षा र आगामी सहयोगका विषयमा छलफल हुने बताइएको छ। बर्नह्यामले बेलायतको समर्थनमा कुनै कमी नआउने बताएका छन्। उनले भनेका छन्, ‘युक्रेनको ३५औं स्वतन्त्रता दिवसमा युक्रेनी जनताले बेलायत आज र आवश्यक परेसम्म तपाईंहरूसँगै छ भन्नेमा कुनै शंका गर्नु पर्दैन।’
बर्नह्यामले ‘युक्रेनको सुरक्षा नै बेलायतको सुरक्षा’ भएको पनि बताएका छन्। रूसले दिएको चेतावनीले बेलायतको युक्रेनप्रतिको समर्थन कमजोर नहुने उनको भनाइ छ। उनले न्यायपूर्ण र दीर्घकालीन शान्ति कायम नभएसम्म बेलायत पछि नहट्ने बताएका छन्। मस्कोले पछिल्लो समय बेलायतमाथि युक्रेनलाई सैन्य सहयोग गरेर युद्धमा आफ्नो संलग्नता बढाएको आरोप लगाउँदै आएको छ। गत साता मस्कोले बेलायतबाट युक्रेनले पाएको ड्रोन रूसी भूभागमा प्रयोग भएको विषयलाई लिएर ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको थियो।
युक्रेनमाथि रूसले सन् २०२२ मा पूर्णस्तरको आक्रमण सुरु गरेपछि बेलायत युक्रेनको प्रमुख समर्थकमध्ये एक रहँदै आएको छ। बेलायतले सैन्य, आर्थिक तथा कूटनीतिक सहयोग गर्दै आएको छ। बेलायती सरकारका अनुसार उसले युक्रेनका लागि अहिलेसम्म करिब २५ अर्ब पाउन्ड बराबरको सहयोग प्रतिबद्धता जनाएको छ। यसमध्ये करिब १६ अर्ब पाउन्ड सैन्य सहयोग र ५.६ अर्ब पाउन्ड गैरसैन्य सहयोगमा छुट्याइएको छ।
बर्नह्यामको भ्रमण युक्रेन र उसका युरोपेली सहयोगीहरूले रूससँगको युद्धमा युक्रेनको दीर्घकालीन सुरक्षा बलियो बनाउने प्रयास गरिरहेका बेला भएको हो। युक्रेनले पछिल्लो समय आफ्नै रक्षा उत्पादन क्षमता बढाउने प्रयासलाई पनि तीव्र बनाउँदै आएको छ। बर्नह्याम प्रधानमन्त्री बनेपछि केही साताअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की बेलायत पुगेका थिए। उनी बर्नह्याम प्रधानमन्त्री बनेपछि बेलायत भ्रमण गर्ने पहिलो अन्तर्राष्ट्रिय पाहुना बनेका थिए।
प्रकाशित: ८ भाद्र २०८३ १२:५४ सोमबार