अन्तर्राष्ट्रिय

न्यूयोर्कमा विमान दुर्घटना हुँदा दुवै पाइलटको मृत्यु

अमेरिकाको न्यूयोर्कस्थित लागार्डिया विमानस्थलमा आइतबार राति (स्थानीय समय) भएको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

जानकारी अनुसार मोन्ट्रियलबाट ७६ जना सवार एयर क्यानडा एक्सप्रेसको 'ज्याज ६४६' विमान अवतरणका क्रममा धावनमार्गमा गुडिरहेको दमकल(ट्रक १)सँग ठोक्किँदा विमानका पाइलट र को-पाइलटको ज्यान गएको हो।

स्थानीय समय अनुसार राति ११:४० बजे भएको यस दुर्घटनामा विमानको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनापछि सार्वजनिक भएको हवाई ट्राफिक नियन्त्रणको अडियोमा नियन्त्रकले दमकललाई रोक्न बारम्बार चेतावनी दिएको सुनिन्छ। नियन्त्रकले ‘रोक्नुहोस्, रोक्नुहोस्, ट्रक १ रोक्नुहोस्’ भन्दै चिच्याएका थिए। तर केही सेकेन्डमै विमान र ट्रकबिच भीषण टक्कर भयो।

प्रारम्भिक रिपोर्ट अनुसार विमानमा रहेका ६० देखि ७२ जना यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्। तर दमकलमा रहेका दुई जना पोर्ट अथोरिटीका अधिकारीहरू गम्भीर घाइते भएका छन्। अन्य केही यात्रुलाई सामान्य चोट लागेको छ। विमानको अगाडिको भाग जमिनमा धसिएको र ककपिटको हिस्सा क्षतविक्षत भएको तस्बिरहरू सार्वजनिक भएका छन्।

संघीय उड्डयन प्रशासनले घटनालगत्तै लागार्डिया विमानस्थल पूर्ण रूपमा बन्द गराएको छ। सोमबार दिउँसोसम्मका लागि सबै उडानहरू रद्द गरिएका छन् भने आउने उडानहरूलाई अन्य विमानस्थलतर्फ 'डाइभर्ट' गरिएको छ। खराब मौसम र भारी वर्षाका कारण भिजिबिलिटी कम भएका बेला यो दुर्घटना भएको बताइएको छ।

हाल अमेरिकी उड्डयन अधिकारीहरूले दमकल कसरी र किन धावनमार्गमा पुग्यो भन्नेबारे विस्तृत अनुसन्धान सुरु गरेका छन्। एजेन्सी

प्रकाशित: ९ चैत्र २०८२ १३:५० सोमबार