अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : चीनतर्फ पनि ठुलो क्षति, खोजी तथा उद्धार तीव्र पार्न राष्ट्रपति सीको निर्देशन

नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण दुवैतर्फ ठुलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि पूर्ण प्रयास गर्न निर्देशन दिएका छन्।

तिब्बततर्फबाट एक्कासि आएको बाढीले चीनको तिब्बत स्वायत्त क्षेत्रको ग्यारोङ काउन्टीमा ठुलो क्षति पुर्‍याएको छ। बाढी र लेदोसहितको पहिरोका कारण चीन-नेपाल सीमा क्षेत्रको ग्यारोङ बन्दरगाहमा सडक, सञ्चार र विद्युत् सेवामा क्षति पुगेको छ।

सिन्ह्वाका अनुसार राष्ट्रपति सीले बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिन, राहत तथा उद्धारमा आवश्यक सबै शक्ति परिचालन गर्न र थप विपद् हुन नदिन जोखिमको निगरानी तथा पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएका छन्। ग्यारोङ बन्दरगाह नेपालसँगको प्रमुख व्यापारिक स्थलमार्गमध्ये एक हो।

नेपालतर्फ रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीलगायतका क्षेत्रमा सडक, बस्ती, सरकारी संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। नेपालतर्फ कम्तीमा आठ जनाको मृत्यु भएको र ठुलो संख्यामा मानिस सम्पर्कविहीन छन्।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल, रसुवागढी भन्सार क्षेत्र तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली खोज तथा उद्धारमा खटिएको छ। तिब्बत क्षेत्रमा रहेका हिमतालबाट अचानक पानी निस्किएको हुन सक्ने आशंका गरिए पनि यसलाई हालसम्म निश्चित कारणका रूपमा पुष्टि गरिएको छैन।

प्रकाशित: १० भाद्र २०८३ १५:०७ बुधबार