अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : चीनतर्फ ५५८ जना बेपत्ता, वर्षा र कठिन भूभागले उद्धारमा चुनौती

नेपाल-चीन सीमा क्षेत्र रसुवाको भोटेकोशीमा बाढी आएपछि चीनतर्फ पनि ठुलो क्षति भएको छ।

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्याइरोङ काउन्टीको ग्याइरोङ बन्दरगाहमा बुधबार बिहान गएको पहिरोमा परी ५५८ जना बेपत्ता भएका छन्। त्यसपछि चीनले ठुलो संख्यामा उद्धार टोली, जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, हेलिकप्टर र राहत सामग्री परिचालन गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार बिहीबार बिहानसम्म पहिरोमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई जनाको उद्धार गरिएको छ। बेपत्ता ५५८ जनामध्ये २६० जना विदेशी नागरिक छन्।

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले उद्धार तथा राहतका लागि टोली परिचालन गरेको छ। बिहीबार बिहानसम्म १४१ जना उद्धारकर्ता घटनास्थल पुगिसकेका थिए भने उच्च हिमाली क्षेत्रमा उद्धारका लागि प्रयोग हुने एमआई-१७१ हेलिकप्टर पनि परिचालन गरिएको छ।

खोज तथा उद्धार टोलीका थप १११ सदस्य उपकरण र राहत सामग्रीसहित चार्टर्ड विमानबाट घटनास्थलतर्फ पठाइएको छ। ल्हासा, चेङ्दु र चोङछिङबाट थप ३०० कर्मचारी १२० सेट उपकरणसहित परिचालन गरिएको छ भने विभिन्न चिनियाँ सरकारी तथा इन्जिनियरिङ कम्पनीका थप २४८ कर्मचारी पनि उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएका छन्। नजिकका १४ उद्धार टोलीका ४१८ कर्मचारीलाई समेत तयारी अवस्थामा राखिएको छ।

पीएलएको पश्चिमी थिएटर कमान्डको टोली पनि वाई-२० सैन्य विमानमार्फत सिजाङ पुगेको छ। उक्त टोलीले पीएलए र सशस्त्र प्रहरीका उद्धार एकाइबिच समन्वय गर्ने बताइएको छ। चीनको रेडक्रसले पनि प्रभावित क्षेत्रमा राहत टोली पठाउँदै पाल, सिरक, फोल्डिङ बेड, सरसफाइ सामग्रीलगायत दुई हजार ५०० राहत सामग्री पठाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उद्धारमा कठिन मौसम र जटिल भूभाग प्रमुख चुनौती बनेका छन्। घटनास्थलमा वर्षा जारी रहेकाले थप पहिरो तथा अवरोध तालको जोखिम रहेको बताइएको छ। पहिरोको किनारा ग्याइरोङ बन्दरगाहबाट करिब २.५ किलोमिटर टाढा रहेको र जम्मा भएको माटो तथा भग्नावशेष करिब १.५ मिटर बाक्लो रहेको जनाइएको छ।

पहिरोका कारण पाँच वटा मोबाइल सञ्चार आधार केन्द्रसमेत बन्द भएका थिए। सञ्चार सेवा पुनः स्थापित गर्न दूरसञ्चार कम्पनीहरूले जेनरेटर, स्याटलाइट फोन, फाइबर अप्टिक केबल र पोर्टेबल स्याटलाइट उपकरणसहितका टोली परिचालन गरेका छन्। सिचुआनबाट पठाइएको ‘विङ लुङ’ आपत्कालीन सञ्चार ड्रोनले पनि घटनास्थलमा काम सुरु गरेको छ।

यस घटनाले नेपालतर्फ पनि ठुलो क्षति पुर्‍याएको छ। नेपालतर्फ बाढी तथा पहिरोमा ८२६ जना बेपत्ता भएका छन् भने १७७ जनाको शव निकालिएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १४:२५ बिहीबार