उत्तरी जापानमा यस वर्ष भालु आक्रमण रेकर्ड स्तरमा बढेपछि अकिता प्रान्तका गभर्नरले सेना गुहारेका छन्। गभर्नर केन्टा सुजुकीले मंगलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकको जीवन रक्षा असम्भव भएको’ बताएका हुन्।
सरकारी तथ्यांकअनुसार यस वर्ष हालसम्म भालुको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ। यो सन् २०२४ मार्चमा समाप्त अघिल्लो आर्थिक वर्षको छ जनाको रेकर्डभन्दा बढी हो। सुजुकीले भने, ‘घाँटी र अनुहार लक्षित आक्रमण सामान्य भइसकेका छन्, जसले भयावह स्थिति सिर्जना गरेको छ।’
भालुहरू अब पहाडमा मात्र सीमित नभई सहर र बस्तीमा देखिन थालेका छन्। ‘स्थानीय बासिन्दाको दैनिकी अवरुद्ध भएको अवस्था असामान्य छ,’ गभर्नरले चेतावनी दिए।
रक्षामन्त्री सिन्जिरो कोइजुमीले सरकारले ‘सुरक्षा पुनः स्थापना गर्न उपलब्ध सबै अधिकार र साधन प्रयोग गर्ने’ प्रतिबद्धता जनाएका छन्। वातावरण मन्त्रालयका अनुसार पछिल्लो पीडित अकिताको पहाडी गाउँमा तीन अन्य व्यक्तिसँगै आक्रमणमा परेका थिए। पछिल्ला केही घटना तथ्यांकमा समावेश भएका छैनन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार अकिताको धान खेतमा एक महिला मृत फेला परेकी थिइन्। उता इवाटेमा एक पुरुष र उनको कुकुर आक्रमणमा परेको पाइएको छ।
उत्तरी क्षेत्रमा भालुले पर्यटकमाथि आक्रमण गर्ने, पसल र विद्यालयनजिक प्रवेश गर्ने घटना बढेका छन्। खानाको कमी र जलवायु परिवर्तनले भालु बस्तीमा पस्न थालेको बताइन्छ।
जापानमा दुई प्रजाति (एसियाली कालो भालु र होक्काइडोका खैरो भालु) भालु पाइन्छन्। यिनीहरूको तौल ५०० किलोग्रामसम्म हुन्छ। हरेक वर्ष सयौँ भालु मारिए पनि वृद्ध जनसङ्ख्या र घट्दो सिकारीको सङ्ख्याले नियन्त्रण कठिन भएको छ।
गत हप्ता वातावरण मन्त्री हिरोटाका इशिहाराले भालु आक्रमणलाई ‘गम्भीर र राष्ट्रिय समस्या’ भन्दै सिकार सुरक्षा सुदृढ गर्ने, सिकारीलाई तालिम दिने र भालु जनसङ्ख्या व्यवस्थापनका उपाय बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। एएफपी
प्रकाशित: ११ कार्तिक २०८२ १२:३९ मंगलबार