एफसी बार्सिलोनाका युवा स्टार लामिन यामलले अर्जेन्टिनी गायिका निकी निकोलसँग आफ्नो सम्बन्धविच्छेद भएको बताएका छन्।
१८ वर्षीय यामलले आरटिभीइ क्याटालोनियाका संचारकर्मी ह्याभियर डे होयोस मार्फत आफूहरू अब सँगै नरहेको बताएका हुन्।
गएको हप्ता भएको ‘एल क्लासिको’ मा रियल म्याड्रिडविरुद्धको कमजोर प्रदर्शनपछि आलोचनाको केन्द्रमा रहेका यामलले होयोस मार्फत् आफ्नो व्यक्तिगत जीवनबारे चलेका हल्लाहरूलाई प्रष्ट पारे।
यामलले भने, ‘हामी (म र निकी) अब सँगै छैनौँ, यो कुनै धोकाधडीका कारण भएको होइन। हामीले साधारण रूपमा छुट्टिने निर्णय गर्यौँ, कुरा यत्ति हो। बाहिर आएका हल्लाहरूको हामीसँग कुनै सम्बन्ध छैन। मैले धोका दिएको वा अरू कसैसँग सम्बन्धमा रहेको कुरा सत्य होइन।’
यामल र निकोलले गत अगस्टमा आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिए। तर, एल क्लासिकोको केही दिनपछि यामल मिलानको एक पार्टीमा इटालियन इन्फ्लुएन्सर अन्ना गेग्नोसोसँग देखिएपछि उनले निकोललाई धोका दिएको हल्ला चलेको थियो।
यो सिजनमा यामलले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न नसकेको विश्वास गर्ने बार्सिलोनाका फ्यानहरूले उनको सम्बन्धविच्छेदको खबरलाई सामाजिक सञ्जालमा सकारात्मक रूपमा लिएका छन्। उनीहरुको सम्बन्धविच्छेद पछि बार्साको खेल सुधारिने उनीहरुको विश्वास छ।
धेरैले अब यामलले आफ्नो खेलमा पूर्ण ध्यान केन्द्रित गर्ने आशा व्यक्त गरेका छन्।
प्रकाशित: १५ कार्तिक २०८२ २१:३२ शनिबार