बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पाकिस्तानी सेना अधिकारी साहिर शमशाद मिर्जालाई दिएको एक उपहार चर्चाको विषय बनेको छ। शनिबार युनुसले भारतीय राज्यहरू समावेश नक्सा भएको पुस्तक ‘द आर्ट अफ ट्रायम्फ’ उपहार दिएका थिए।
पुस्तकको आवरणमा भारतका उत्तरपूर्वी राज्यहरू आसाम, मेघालय, त्रिपुरा, नागाल्यान्ड, मणिपुर, मिजोरम र अरुणाचललाई बंगलादेशको हिस्साका रूपमा देखाइएको छ। भारत सरकारले यसबारे प्रतिक्रिया दिएका छैनन्।
यो पुस्तक २०२४ को विद्यार्थी आन्दोलनका भित्ति चित्रहरूको संग्रह हो, जुन युनुसले सेप्टेम्बर २०२४ मा विमोचन गरेका थिए। यो बिक्रीमा छैन। तर १२ भन्दा बढी विदेशी नेताहरूलाई उपहार दिइएको छ।
यो नक्सा पाउनेमा पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेन, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, पूर्व क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडो, ब्राजिलका प्रधानमन्त्री लुला दा सिल्भा र पूर्व अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जस्ता ठुला नामहरू समावेश छन्।
मिर्जा, पाकिस्तानी सेनामा दोस्रो शक्तिशाली व्यक्ति, २४ अक्टोबरमा ढाका पुगेका थिए। भेटमा व्यापार, लगानी, रक्षा र सुरक्षा सहयोगमा छलफल भएको जानकारी गराइएको छ। उनले दुई देशको सांस्कृतिक सम्बन्ध बलियो बनाउन चाहेको बताए।
विद्यार्थी विद्रोहपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना पदबाट हट्नु परेको थियो। त्यसपछि भारत र बंगलादेशको सम्बन्ध तनावपूर्ण छ। अर्कोतिर तर पाकिस्तानसँग सम्बन्ध सुध्रिएको छ। नोभेम्बर २०२४ मा पाकिस्तानी कार्गो जहाज चटगाँ बन्दरगाहमा पुगेको थियो। अप्रिल २०२५ मा दुई देशका विदेश सचिवहरू १५ वर्षपछि भेटे। यसअघि यो नक्साको विवाद भारतको राज्यसभामा उठेको थियो। भारत सरकारले यसलाई ‘झूटो’ भनेर खारेज गरेको थियो। एजेन्सी
प्रकाशित: ११ कार्तिक २०८२ १२:०४ मंगलबार