अन्तर्राष्ट्रिय

बंगलादेश : हसिनालाई मृत्युदण्ड सुनाएपछि शान्त ढाका, अवामी लिगको बन्द ‘फेल’

गत वर्ष विद्यार्थी विद्रोह दबाउन घातक बल प्रयोग गरेको अभियोगमा शेख हसिनालाई सोमबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइए पनि मंगलबार राजधानी ढाका र प्रमुख सहरहरू पूर्ण रूपमा सामान्य रहे। हसिनाको अवामी लिगले देशव्यापी बन्द आह्वान गरे पनि पसल, यातायात र विद्यालय सबै खुलेका थिए।  

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको हो। सोमबार साँझ हसिनाका विरोधी र सुरक्षाकर्मीबीच केही झडप भए पनि मंगलबार सहर पूरै शान्त देखियो।  

ढाकाका व्यापारी मोहम्मद साइकोट हुसेनले भने, ‘यहाँ वास्तविक कानूनको शासन नै छैन।’ उनले आफ्ना सन्तानको भविष्यप्रति चिन्ता व्यक्त गर्दै भने, हाम्रा छोराछोरीहरू यस्तै वातावरणमा हुर्किरहेका छन्—न लक्ष्य छ, न भविष्य। उनीहरू कहाँ पुग्लान् भन्नेमा म अत्यन्तै चिन्तित छु।’ 

हसिना र खान अहिले भारतमा शरण लिएर बसेका छन्। सुपुर्दगीको सम्भावना न्यून भएकाले मृत्युदण्ड कार्यान्वयन हुने सम्भावना निकै कम छ। हसिनाले आफूमाथिका आरोप ‘अन्यायपूर्ण’ भएको बताएकी छिन्।  

संयुक्त राष्ट्रसङ्घले यो सजायलाई ‘पीडितहरूका लागि महत्त्वपूर्ण क्षण’ भनेको छ भने मानवअधिकार सङ्गठनहरूले मुद्दाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्।  

अहिले मुहम्मद युनुसको अन्तरिम सरकारले देश चलाइरहेको छ र फेब्रुअरीमा निर्वाचनको तयारी भइरहेको छ। एजेन्सी

प्रकाशित: ३ मंसिर २०८२ १३:३३ बुधबार