बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठूलो स्तरको अनुसन्धान सुरु गरिएको छ। यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका एक हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ। मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने उक्त अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन्।
बिहीबार सार्वजनिक गरिएको संस्थानको विज्ञप्तिअनुसार ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ। अनुसन्धानबाट प्राप्त नतिजाले यस्ता समस्या विकास हुनुका पछाडिका कारण बुझ्न र उपचारका प्रभावकारी उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर पूर्वप्राथमिक तहका करिब १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन्। कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन्।
विशेषगरी लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पर्न सक्छ। स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
यस्ता समस्याको प्रभाव बोल्ने क्षमतामा मात्र सीमित नहुने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ। सानै उमेरमा देखिने उच्चारणसम्बन्धी कठिनाइ पछि पढ्ने र लेख्ने क्षमतासँग पनि जोडिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै समस्या पहिचान गर्नु महत्त्वपूर्ण मानिएको छ।
मर्डोक बाल अनुसन्धान संस्थानको बोली तथा भाषा अनुसन्धान समूहकी प्रमुख प्राध्यापक एन्जेला मोर्गनले अध्ययनले बालबालिकामा बोलीसम्बन्धी समस्या किन विकास हुन्छ भन्ने बुझ्न सहयोग गर्ने बताएका छन्।
उनका अनुसार यस अनुसन्धानको मुख्य उद्देश्य समस्यासँग सम्बन्धित वंशाणुगत कारण पत्ता लगाउनुका साथै प्रभावित बालबालिकाको समयमै पहिचान र उनीहरूको आवश्यकताअनुसार उपचार तथा हेरचाहको व्यवस्था गर्न सहयोग पुर्याउनु हो।
मोर्गनका अनुसार बोलीसम्बन्धी समस्या भएका प्रत्येक चारमध्ये करिब एक जनाले आफ्नो परिवारमा पनि यस्तै समस्या रहेको इतिहास सुनाएका छन्। यसले परिवारभित्र यस्तो समस्या देखिने सम्भावनालाई संकेत गरे पनि परिवारमा कसैलाई यस्तो समस्या नभएका बालबालिकामा समेत वंशाणुगत कारणको भूमिका हुन सक्ने उहाँले बताए।
यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो। तर, अहिले सुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने सामान्य बोलीसम्बन्धी समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ।
यसका लागि अनुसन्धानमा सहभागी हुने योग्य बालबालिकाका परिवारले इन्टरनेटमार्फत केही छोटा बोलीसम्बन्धी गतिविधि पूरा गर्नुपर्नेछ। साथै, बालबालिकाको र्यालको नमुना संकलन गरी वंशाणुगत पदार्थको परीक्षण गरिनेछ। उक्त परीक्षणबाट बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत विशेषताहरू पहिचान गर्ने प्रयास गरिनेछ।
अनुसन्धानकर्ताहरूले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यालाई समयमै पहिचान गर्न सके उनीहरूको सञ्चार क्षमता, सिकाइ र सामाजिक विकासमा आवश्यक सहयोग पुर्याउन सहज हुने विश्वास व्यक्त गरेका छन्।
यस अध्ययनबाट प्राप्त हुने निष्कर्षले भविष्यमा बोलीसम्बन्धी समस्या भएका बालबालिकाको पहिचान र उपचारलाई थप प्रभावकारी तथा उनीहरूको आवश्यकताअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ११ मंसिर २०८३ २१:५७ शुक्रबार



