अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले नेपालमा गएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सोमबार संसद्मा सम्बोधन गर्दै उनले नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला नेपाली जनताले यो पीडा एक्लै बोक्नुनपर्ने बताएका हुन्। संकटको यस घडीमा अस्ट्रेलियाली सरकार र जनता नेपालीहरूको साथमा रहेको उनको भनाइ थियो।
उनका अनुसार हिमनदी भत्किएर आएको बाढीले सीमाको दुवैतिर विनाश मच्चाए पनि सबैभन्दा बढी असर नेपालले बेहोर्नुपरेको छ। बाढीका कारण धेरै मानिसले आफ्ना प्रियजन, घर, गाउँ र जीविकोपार्जन गुमाएको उल्लेख गर्दै उनले प्रभावितहरू गम्भीर पीडामा रहेको बताएका छन्।
धेरै मानिस अझै अनिश्चितताबिच बाँचिरहेको र हराएका व्यक्तिहरू सकुशल भेटिने आशामा रहेको उनको भनाइ थियो। उनले भने, ‘नेपालमा आएको बाढीका कारण घरबारविहीन भएका, प्रियजन गुमाएका र पीडामा परेकाहरूप्रति हाम्रो पूर्ण ऐक्यबद्धता छ।’
अल्बेनिजका अनुसार यस महाविपत्तिमा ३६ अस्ट्रेलियाली पनि बेपत्ता छन्। उनीहरूका परिवार र साथीहरूप्रति सम्पूर्ण अस्ट्रेलियालीको साथ र समवेदना रहेको उनले बताए।
सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुरा गरेको स्मरण गर्दै अस्ट्रेलियाको तर्फबाट यस विपत्तिबाट प्रभावित सबै नेपालीप्रति गहिरो समवेदना व्यक्त गरेको पनि उल्लेख गरे। उनले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग सरकारले सहकार्य गरिरहेको जानकारी दिए। अल्बेनिजले सबै अस्ट्रेलियालीलाई आशा कायम राख्न र प्रभावितहरूको सम्झनामा प्रार्थना गर्न आग्रह गरेका छन्।
प्रकाशित: २२ भाद्र २०८३ १२:२३ सोमबार