इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा अमेरिका र इजरायलले भारी बमबारी गरेका छन्। गएराति भएको आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ, जसमा ६ जना बालबालिका समेत छन्।
अल जजीराका अनुसार इरानको राजधानी तेहरानमा अवस्थित चार प्रमुख विश्वविद्यालयहरू हालैका हप्ताहरूमा आक्रमणको निशानामा परेका छन्।
यी संस्थाहरूमा शरीफ युनिभर्सिटी अफ टेक्नोलोजी, तेहरान विश्वविद्यालय, अमिरकबीर युनिभर्सिटी अफ टेक्नोलोजी, र सहिद बेहेस्ती विश्वविद्यालय रहेका छन्। यी सबै विश्वविद्यालयहरू तेहरानकै विभिन्न भागमा रहेका छन्, जहाँ शरीफ विश्वविद्यालयमा सबैभन्दा बढी भौतिक क्षति भएको रिपोर्ट गरिएको छ।
अमेरिका र इजरायलले विश्वविद्यालय, अस्पताल र विद्यालयका साथै तेल, ग्यास र स्टिल उद्योगहरूलाई लक्षित हमला जारी राखेका छन्। तेहरानबाहेक कारज, शिराज, इस्फहान, बुशेहर र बन्दर-ए-लेन्गेह जस्ता सहरहरूमा पनि व्यापक हवाई आक्रमण भएको छ। बहरेस्तानमा ६ र कोममा ५ जनाको मृत्यु भएको जानकारी दिइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई होर्मुजको जलमार्ग खोल्न मंगलबारसम्मको समयसीमा तोकेका छन्। उनले भनेका छन्, ‘अन्यथा, इरानले आफ्ना पावर प्लान्ट र पुलहरूमा आक्रमणको सामना गर्नुपर्नेछ।’ इरानले पनि खाडी क्षेत्रमा थप हमला गरेर बदला लिने चेतावनी दिएको छ।
इरानले इजरायलको हाइफास्थित एक आवासीय भवनमा क्षेप्यास्त्र प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ। यस्तै, खाडी क्षेत्रका कुवेत र बहराइनमा रहेका तेल तथा विद्युत केन्द्रहरूमा पनि इरानले आक्रमण जारी राखेको छ। एजेन्सी
प्रकाशित: २३ चैत्र २०८२ १२:५५ सोमबार