अन्तर्राष्ट्रिय

अन्तरिक्ष यात्रीको प्रेम र ठगी: वृद्ध महिलाले १० लाख गुमाइन्

तपाईंले प्रेमको बहानामा भएका ठगीका धेरै कथा सुन्नुभएको होला। तर अहिले यो घटना अनौठो छ। जापानको होक्काइडोमा बस्ने ८० वर्षीया एक वृद्ध महिलालाई उनको ‘अन्तरिक्ष यात्री प्रेमी’ ले १० लाख येन ठगे। उनले आफू अन्तरिक्षमा अड्किएको र अक्सिजन सकिएको बताएर पैसा मागे। 

महिलाले जुलाईमा सामाजिक सञ्जालमार्फत यो ठगसँग सम्पर्क बनाएकी थिइन्। उनले आफूलाई अन्तरिक्ष यात्री बताएर कुरा अघि बढाए। केही दिनको कुराकानीपछि उनले भने, ‘म अन्तरिक्ष यानमा अड्किएको छु, अक्सिजन सकिँदैछ।’ पृथ्वी फर्कन ‘थोरै’ पैसा चाहिने उनको भनाइ थियो। महिलाले उनको कुरा पत्याएर पटक-पटक अनलाइनमार्फत पैसा पठाइन्, जसले गर्दा उनले १० लाख येन गुमाइन्। 

स्थानीय प्रहरीले चेतावनी दिँदै भने, ‘सामाजिक सञ्जालमा भेटिएको कसैले पैसा मागेमा सावधान रहनुहोस्। यो ठगी हुन सक्छ, प्रहरीलाई खबर गर्नुहोस्।’ 

जापानमा वृद्ध जनसंख्या धेरै भएकाले यस्ता ठगीका घटना बढ्दै छन्। सन् २०२४ को पहिलो ११ महिनामा ३,३२६ यस्ता ‘रोमान्स घोटाला’ दर्ता भए, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। एजेन्सी

प्रकाशित: २१ भाद्र २०८२ ०९:२० शनिबार