अन्तर्राष्ट्रिय

युक्रेनका पूर्वसभामुखको हत्या, जेलेन्स्कीले के भने?

युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिबार एक सांसदको गोली हानी हत्या गरिएको छ। सांसदको गोली हानी हत्या भएको भन्ने खबरलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गरेका छन्।  

जेलेन्स्कीले सन् २०१० को दशकमा संसदीय सभामुख रहेका चर्चित राजनीतिज्ञ एन्ड्री पारुबीको हत्याको विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे।  राष्ट्रपति जेलेन्स्कीले उक्त हत्यालाई ‘भयानक हत्या’ भनेर निन्दा गर्दै पारुबीको परिवार र प्रियजनहरूप्रति समवेदना व्यक्त गरेका छन्। 

‘हत्याको अनुसन्धान र हत्याराको खोजीमा सबै आवश्यक शक्ति र साधन परिचालित छन्,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्।  युक्रेनी अधिकारीहरूले घातक गोलीबारी हुनुको सम्भावित उद्देश्य तुरुन्तै खुलासा गरेका छैनन्। ल्भिभका मेयर एन्ड्री सदोवीले हत्यारा पत्ता लगाउनु र आक्रमणको परिस्थिति स्थापित गर्नु अत्यन्त महत्त्वपूर्ण भएको बताए। 

प्रहरीका अनुसार ५४ वर्षीय पारुबीको घटनास्थलमै मृत्यु भएको थियो। आक्रमणकारीको खोजी भइरहेको र हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। सन् २०१६ देखि सन् २०१९ सम्म संसदको सभामुख रहेका पारुबी सन् २००४ को युरोप समर्थित ‘ओरेन्ज रिभोलुसन’ र सन् २०१४ को ‘मेडन रिभोलुसन’का प्रमुख समर्थक थिए। एजेन्सी

प्रकाशित: १५ भाद्र २०८२ ०८:०८ आइतबार