अन्तर्राष्ट्रिय

पानी बचाउन एसियाली समुदायलाई चामल कम धुन भनियो

एआई तस्बिर

बेलायतमा पानी बचाउने अभियानअन्तर्गत एसियाली समुदायलाई चामल कम पानीमा धुन र मुस्लिम समुदायलाई प्रार्थनाअघि गरिने वुजुमा कम पानी प्रयोग गर्न सुझाव दिइएको छ। 

द टेलिग्राफका अनुसार यस्तो अभियानका लागि पानी उद्योग नियामक अफवाटले दुई लाख ७० हजार पाउन्ड खर्च गरेको भन्दै आलोचना भएको छ। यो परियोजना साउथ स्टाफोर्डशायर वाटरको नेतृत्वमा सञ्चालन भएको थियो। यसको उद्देश्य विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायमा पानी बचत गर्ने व्यवहार विकास गर्नु रहेको बताइएको छ।

परियोजनामा दक्षिणपूर्वी एसियाली समुदायमा भात पकाउनुअघि प्रयोग हुने पानीलाई विशेष विषय बनाइएको थियो। अनुसन्धानका क्रममा घरपरिवारले चामल धुन औसतमा सात लिटर पानी प्रयोग गर्ने गरेको तर त्यसका लागि एक लिटर पानी पर्याप्त हुने निष्कर्ष निकालिएको थियो।

सन् २०१४ मा मास्टरशेफ जितेकी सेलिब्रेटी शेफ पिङ कोम्बेसलाई अभियानका लागि भिडियो बनाउन सहभागी गराइएको थियो। सन् २०२४ मा सार्वजनिक गरिएको भिडियोमा उनले चामल पाँचदेखि सात पटकसम्म धुने चलनबारे चर्चा गरेकी छन्।

उनले भनेकी छन्, ‘पानी सफा नहुन्जेल पाँचदेखि सात पटकसम्म चामल धुनु सामान्य अभ्यास हो। यसले मलाई चामल यति धेरै पटक धुनु वास्तवमै आवश्यक छ कि छैन भन्ने सोच्न बाध्य बनायो। म भने चामल दुई पटक मात्र धुन्छु।’

अभियानले चामल धोएपछि बाँकी रहेको पानी घरमा बिरुवा हुर्काउन प्रयोग गर्न पनि सुझाव दिएको थियो।

परियोजनाको अर्को भाग मुस्लिम समुदायमा प्रार्थनाअघि गरिने वुजुमा पानीको प्रयोग घटाउने विषयमा केन्द्रित थियो।

दाबी गरिएअनुसार बगिरहेको धाराको पानी प्रयोग गर्दा मुस्लिमहरूले एउटा वुजुका लागि सामान्यतया ६ देखि १२ लिटरसम्म पानी प्रयोग गर्ने गरेका थिए। त्यसलाई घटाएर एक लिटर पानीमै वुजु गर्न सकिने उपायबारे समुदायमा जानकारी दिइएको थियो।

क्याम्ब्रिज केन्द्रीय मस्जिद वरपरका केही मुस्लिम परिवारसँग यस्तो अभ्यास परीक्षण गरिएको थियो। अनुसन्धानमा पैगम्बर मोहम्मदले एक लिटर पानी प्रयोग गरेर वुजु गरेको मानिने उल्लेख गर्दै त्यही शैली अपनाउन सुझाव दिइएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार यो विधि अपनाएमा एक व्यक्तिले दैनिक करिब ५५ लिटर पानी बचत गर्न सक्ने अनुमान गरिएको थियो।

अध्ययनले मुस्लिम समुदायमा पानी बचतसम्बन्धी सन्देश फैलाउन इस्लामिक टेलिभिजन च्यानललगायत माध्यम प्रयोग गर्न पनि सुझाव दिएको थियो। तर कुनै विशेष धर्मलाई अन्य समुदायभन्दा बढी पानी खेर फाल्ने भनेर दोष नदिन पानी कम्पनीहरूलाई सचेत गराइएको थियो।

अभियानका लागि खर्च गरिएको रकमलाई लिएर भने आलोचना भएको छ। आलोचकहरूले पानी कम्पनीहरूले ग्राहकबाट उठाएको पैसा चुहावट नियन्त्रण र पुरानो पूर्वाधार सुधारमा प्राथमिकताका साथ खर्च गर्नुपर्ने बताएका छन्।

बेलायतमा पानीको चुहावटबाट दैनिक एक अर्ब लिटरभन्दा बढी पानी खेर जाने गरेको दाबी गरिएको छ। यस्तो अवस्थामा ग्राहकको पैसा सांस्कृतिक तथा धार्मिक अभ्यास परिवर्तन गर्ने अभियानमा खर्च गर्नु उचित नभएको आलोचकहरूको भनाइ छ।

छायाँ क्याबिनेट कार्यालयका मन्त्री माइक वुडले पानीको बर्बादी घटाउनु राम्रो उद्देश्य भए पनि ठूलो प्रश्न ग्राहकको पैसा कसरी खर्च भइरहेको छ भन्ने रहेको बताए।

उनले भनेका छन्, ‘परिवारहरू पहिले नै ठूलो बिल वृद्धिको सामना गरिरहेका छन्। उनीहरू आफ्नो पैसा लामो समयदेखि चलिआएका धार्मिक र सांस्कृतिक अभ्यास परिवर्तन गर्ने विचित्र योजनामा खर्च भएको देखेर खुसी हुने छैनन्।’

डाउनिङ स्ट्रिटले पनि पानीका ग्राहकलाई ‘खाली चेक’ का रूपमा व्यवहार गर्न नसकिने बताएको छ।

बेलायतमा लामो समयदेखि जारी सुख्खा मौसमका कारण पानीको स्रोतमा दबाब बढेको छ। देशका धेरै क्षेत्रमा पानी प्रयोगमा प्रतिबन्ध लगाइएको छ। यस्तो अवस्थामा पानीको प्रयोग घटाउने अभियानलाई महत्व दिइए पनि त्यसका लागि ग्राहकको पैसा कसरी खर्च भइरहेको छ भन्ने विषयमा प्रश्न उठेको हो।

अफवाटले सन् २०२० मा इङ्ल्यान्ड र वेल्सका घरायसी पानी ग्राहकबाट उठाइएको रकममार्फत जलवायु संकट र पानी व्यवस्थापनका नयाँ उपायबारे अनुसन्धान गर्न ६० करोड पाउन्डको वाटर इनोभेसन फन्ड सुरु गरेको थियो।

यसअन्तर्गत पानीको प्रयोग घटाउने विभिन्न उपायमा अनुसन्धान र अभियान सञ्चालन हुँदै आएका छन्। सेभर्न ट्रेन्ट वाटरले पनि ग्राहकले पानीको प्रयोग घटाएबापत अनलाइन किनमेलमा प्रयोग गर्न मिल्ने अंक दिने १८ लाख पाउन्डको परियोजना सञ्चालन गरिरहेको छ।

साउथ स्टाफोर्डशायर वाटरका प्रवक्ताले पानीको उचित प्रयोग पानीका स्रोत जोगाउने महत्वपूर्ण उपाय भएको बताएका छन्।

उनले भने, ‘हामी ग्राहकलाई पानी बचत गर्न आफूले गर्न सक्ने काम र साउथ स्टाफोर्डशायर वाटर तथा क्याम्ब्रिज वाटरले गरिरहेका कामबारे जानकारी दिन्छौं। हाम्रो संलग्नताले हामीले सेवा दिने क्षेत्रका विभिन्न समुदायको जनसांख्यिक अवस्थालाई पनि प्रतिबिम्बित गर्छ।’

अफवाटका प्रवक्ताले लामो समयसम्मको सुख्खा मौसमले पानीलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता झनै स्पष्ट बनाएको बताएका छन्।

उनले भनेका छन्, ‘यस पाइलट परियोजनामा पानी कम्पनी, परोपकारी संस्था र विभिन्न धार्मिक समूहसँग सहकार्य गरेर समुदायअनुकूल र व्यवहारिक सहयोग उपलब्ध गराउने काम गरिएको थियो।’

अफवाटका अनुसार पानी बचतसम्बन्धी कार्यक्रमका लागि बजेट छुट्याइएको थियो, जुन परियोजना अप्रिल २०२५ मा सम्पन्न भएको थियो। संस्थाले यो अभियानले मानिसलाई धार्मिक पूजा वा सांस्कृतिक रीतिरिवाजमा के गर्न हुने वा नहुने भनेर निर्देशन नदिएको पनि स्पष्ट पारेको छ।

प्रकाशित: ८ भाद्र २०८३ ०८:३८ सोमबार