उत्तर कोरियाली नेता किम जोङ उन चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित यालु नदी पुल हुँदै चीनको सीमावर्ती सहर डानडोङ पुगेका छन्। उत्तर कोरियाली नेताको स्वास्थ्य र सम्भावित मृत्युबारे सामाजिक सञ्जालमा विभिन्न दाबी फैलिरहेका बेला उनको चीन भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएको हो।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार सरकारी स्रोतले किम शनिबार बिहान नयाँ पुल हुँदै डानडोङ पुगेको पुष्टि गरेको छ। चीनले दुई देशबीचको सीमा निर्धारण गर्ने यालु नदीमाथि निर्माण गरिएको नयाँ पुल औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरेपछि यो घटनाक्रम सार्वजनिक भएको हो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अक्टोबर १४ मा उक्त पुलले चीन र उत्तर कोरियाबीचको व्यापार तथा जनस्तरको आदानप्रदानलाई सहज बनाउने बताएकी थिइन्।
चीन र उत्तर कोरिया दुवै पक्षबीच भएको सहमतिअनुसार पुल सञ्चालनमा ल्याइएको र संयुक्त रूपमा उद्घाटन समारोह आयोजना गर्ने तयारी गरिएको माओले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन्।
चीन र उत्तर कोरियालाई ‘पहाड र नदीले जोडिएका मित्रवत् छिमेकी’ को संज्ञा दिँदै उनले नयाँ पुल दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधार भएको बताएकी थिइन्। पुल सञ्चालनमा आएपछि द्विपक्षीय व्यापार र जनस्तरको आवागमन बढ्नुका साथै दुवै देशका नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने चीनको अपेक्षा छ।
दक्षिण कोरियालाई लक्षित गर्दै उत्तर कोरियाको नयाँ चेतावनी
यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियासँगको सीमामा नयाँ प्रतिकारात्मक साधन तैनाथ गर्ने चेतावनी दिएकी छन्। उनले दक्षिण कोरियालाई लक्षित प्रचारप्रसारका लागि प्रयोग गरिने लाउडस्पिकरसमेत केही दिनभित्र तयारी अवस्थामा राखिने बताएकी छन्।
योनहापका अनुसार उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेको वक्तव्यमा किम यो जोङले नयाँ प्रतिकारात्मक साधन दक्षिणी सीमाको सम्पूर्ण क्षेत्रमा परिचालनका लागि सतर्क अवस्थामा राखिने उल्लेख गरेकी छन्।
उनले दक्षिण कोरिया गणतन्त्र (आरओके) विरुद्ध प्रयोग गरिने प्रचारात्मक लाउडस्पिकर पनि केही दिनभित्र तयारी अवस्थामा रहने बताएकी छन्।
यसअघि पनि किम यो जोङले उत्तर कोरियाले यसै महिनाको अन्त्यतिर दक्षिण कोरियातर्फ प्रचारात्मक लाउडस्पिकर प्रसारण पुनः सुरु गर्न सक्ने चेतावनी दिएकी थिइन्। पछिल्लो अभिव्यक्तिले दुई कोरियाबीचको तनाव थप बढ्न सक्ने संकेत गरेको छ।
किम यो जोङले दक्षिणी सीमामा सुरक्षा संरचना थप मजबुत बनाउने प्योङयाङको प्रयासको बचाउ गर्दै निर्माण कार्य उत्तर कोरियाको आफ्नै भूभागभित्र निरन्तर जारी रहने बताएकी छन्।
किमको मृत्यु भएको हल्ला, स्वतन्त्र पुष्टि छैन
यी घटनाक्रमसँगै सामाजिक सञ्जालमा किम जोङ उन गम्भीर मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएको दाबीसहितका अपुष्ट खबर फैलिएका छन्। तर, उनको मृत्यु भएको दाबी पुष्टि गर्ने स्वतन्त्र तथा विश्वसनीय प्रमाण सार्वजनिक भएको छैन।
यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम जोङ उनले जुत्ता तथा महिलाका लुगासम्बन्धी प्रदर्शनीको निरीक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ।
न्युयोर्क पोस्टका अनुसार कोरियाली केन्द्रीय समाचार संस्थाले किमले सोमबार उक्त प्रदर्शनीको भ्रमण गरेको जनाएको छ। यद्यपि, सार्वजनिक गरिएका तस्बिरको स्वतन्त्र रूपमा प्रमाणीकरण भएको छैन।
अमेरिकामा रहेका चिनियाँ असन्तुष्ट वानजुन सीले सामाजिक सञ्जालमा किम अस्पताल भर्ना भएको र उनको सम्भावित उत्तराधिकारीलाई लिएर संकट उत्पन्न भएको दाबी गरेका थिए। उनले यसैबीच चीनले प्योङयाङमा सेना परिचालन गरेको दाबीसमेत गरेका छन्।
तर, किमको स्वास्थ्य अवस्था, सम्भावित उत्तराधिकारीसम्बन्धी संकट वा प्योङयाङमा चिनियाँ सेना परिचालन गरिएको भन्ने दाबी पुष्टि गर्ने स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन।
प्रकाशित: ७ कार्तिक २०८३ १६:०६ शनिबार