अन्तर्राष्ट्रिय

रूस–यूक्रेन युद्ध समाप्त गर्ने ‘ट्रम्प शान्ति योजना’मा संशोधन, कुन–कुन विषयमा भयो सहमति

रूस–यूक्रेन युद्ध समाप्त गर्ने विषयमा जिनेभामा धेरै मुलुकबीच भएको वार्तापछि आइतवार जारी गरिएको यूक्रेन र अमेरिकाको संयुक्त वक्तव्यमा ‘अपडेटेड पीस प्लान’को उल्लेख गरिएको छ। दुवै पक्षले यसलाई ‘अपडेटेड र संशोधित फ्रेमवर्क डकुमेन्ट’ भनेका छन्।

आइतवार भएको वार्तामा अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र यूक्रेनका प्रतिनिधिहरू सहभागी थिए। यसअघि, अमेरिकाले एउटा शान्ति योजना प्रस्ताव गरेको थियो, जसलाई व्यापक रूपमा रूसको पक्षमा रहेको भनेर आलोचना गरिएको थियो।

फाइनान्सियल टाइम्सका एक प्रतिनिधिलाई उद्धृत गर्दै भनिएको छ कि नयाँ योजनामा राखिएका १९ बुँदा पुरानै प्रारम्भिक योजनाबाट लिइएका हुन्।

हाल नयाँ ‘अपडेटेड पीस प्लान’बारे धेरै जानकारी सार्वजनिक छैन, तर समाचार संस्था रोयटर्सका अनुसार, यसमा पश्चिमी मुलुकहरूले यूक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न नपाउने उल्लेख छ, तर यसमा पूर्ण प्रतिबन्ध भने लगाइएको छैन।

योजनाअनुसार, रूसलाई डोनबास क्षेत्र सम्पूर्ण रूपमा ‘मुफ्त’ दिइने छैन, र यूक्रेनले आफ्नो कब्जा गुमाएका क्षेत्रमा पुनः अधिकार जमाउन कूटनीतिक बाटो अपनाउन सक्नेछ। युद्ध अपराधहरूको पूर्ण आममाफी (क्षमादान) सम्बन्धी प्रावधान पनि हटाइयो। यस वार्ताबारे अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ‘धेरै प्रगति’ भएको बताएका छन्। एजेन्सी

प्रकाशित: ९ मंसिर २०८२ ०८:१२ मंगलबार