अन्तर्राष्ट्रिय

हर्मुजको विकल्प: दक्षिण कोरियाले पहिलोपटक आर्कटिक समुद्री मार्गबाट पठायो कन्टेनर

दक्षिण कोरियाले पहिलोपटक आर्कटिक समुद्री मार्ग हुँदै युरोपतर्फ परीक्षण कन्टेनर जहाज पठाएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण परम्परागत समुद्री व्यापार मार्गमा जोखिम बढिरहेका बेला छोटो वैकल्पिक मार्गको सम्भाव्यता परीक्षण गर्न कोरियाले जहाज पठाएको हो।

बुसान नयाँ बन्दरगाहबाट शनिबार राति ‘पानस्टार एक्रो’ नामक कन्टेनर जहाज आर्कटिक मार्गतर्फ प्रस्थान गरेको दक्षिण कोरियाको समुद्र तथा मत्स्य मन्त्रालयले जनाएको छ।

जहाजले बेलायतको फेलिक्सस्टो, नेदरल्यान्ड्सको रोटरड्याम र पोल्यान्डको ग्डान्स्क हुँदै पुनः दक्षिण कोरिया फर्किनेछ। पूरा यात्रा करिब ४५ दिनमा सम्पन्न हुने मन्त्रालयको अनुमान छ।

७ हजार किलोमिटर छोटो मार्ग

एसिया र युरोपबीचको परम्परागत समुद्री व्यापार मार्ग सुयेज नहर हुँदै जाने गर्छ। तर आर्कटिकको उत्तरी समुद्री मार्ग प्रयोग गर्न सके एसिया–युरोप समुद्री दूरी करिब ७ हजार किलोमिटर घट्न सक्ने दक्षिण कोरियाली अन्तर्राष्ट्रिय आर्थिक नीति संस्थानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

यसबाट यात्रा समय पनि करिब १० दिनसम्म छोटिन सक्छ। त्यसैले मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र समुद्री यातायातमा देखिएको अनिश्चितताका बीच आर्कटिक मार्गलाई वैकल्पिक व्यापारिक मार्गका रूपमा हेरिन थालेको हो।

दक्षिण कोरियाका उपसमुद्र तथा मत्स्य मन्त्री नाम जे–होनले भूराजनीतिक जोखिम र प्रविधिको विकाससँगै आर्कटिक मार्ग मध्यपूर्व हुँदै जाने समुद्री मार्गको विकल्प बन्ने सम्भावना बढेको बताएका छन्।

दक्षिण कोरियाको यो कदम चीनले केही समयअघि यस्तै परीक्षणका लागि ‘दुबई टावर’ नामक कन्टेनर जहाज आर्कटिक मार्गबाट युरोपतर्फ पठाएपछि आएको हो। उक्त जहाज चीनको निङ्बो बन्दरगाहबाट बेरिङ जलडमरू हुँदै रूसको आर्कटिक तट पछ्याउँदै पश्चिमतर्फ गएको थियो।

आर्कटिक क्षेत्रका विज्ञहरूले चीन र दक्षिण कोरियाको पछिल्लो गतिविधिले रूसको उत्तरी समुद्री मार्गलाई नियमित समुद्री यातायातको दोस्रो विकल्पका रूपमा स्थापित गर्ने प्रयास तीव्र भएको संकेत गरेको बताएका छन्।

रूससँगको सम्बन्ध र प्रतिबन्धको प्रश्न

आर्कटिक मार्ग प्रयोग गर्दा दक्षिण कोरियाली जहाजले रूसबाट प्राप्त हुने नेभिगेसन तथा मौसमसम्बन्धी सेवाको उपयोग गर्नुपर्ने भएकाले पश्चिमी प्रतिबन्धको विषय पनि उठेको छ। ती सेवाका लागि रकम भुक्तानी गर्नुपर्ने भएकाले रूसमाथि लगाइएका अमेरिकी तथा युरोपेली प्रतिबन्धसँग यो विषय जोडिन सक्ने केही विज्ञको भनाइ छ।

दक्षिण कोरिया र रूसबीचको सम्बन्ध तथा उक्त यात्रामा प्रतिबन्धसम्बन्धी जोखिमबारे एएफपीले सोधेको प्रश्नमा दक्षिण कोरियाको विदेश मन्त्रालयले तत्काल प्रतिक्रिया दिएको छैन।

ओस्लो विश्वविद्यालयका कोरियाली अध्ययनका प्राध्यापक भ्लादिमिर तिखोनोभले अमेरिकी र युरोपेली प्रतिबन्धलाई संयुक्त राष्ट्रसंघका प्रतिबन्धजस्तो अन्तर्राष्ट्रिय कानुनका रूपमा बुझ्न नहुने बताएका छन्। मध्यपूर्वमा अनिश्चितता कायम रहे आर्कटिक मार्ग आर्थिक रूपमा सम्भाव्य देखिए दक्षिण कोरियासँग विकल्प सीमित हुन सक्ने उनको भनाइ छ।

आर्कटिक विश्वविद्यालय नर्वेका राजनीतिशास्त्रका प्राध्यापक मार्क लान्टेन्यका अनुसार चीनको आर्कटिक रणनीतिमा राजनीतिक तथा रणनीतिक उद्देश्य बढी देखिए पनि दक्षिण कोरियाको रुचि मुख्यतः वैकल्पिक व्यापारिक मार्ग विकाससँग जोडिएको छ।

छोटो समुद्री मार्ग, ठूलो वातावरणीय चिन्ता

आर्कटिक मार्गको सम्भावना बढ्दै गए पनि वातावरणविद्हरूले यसबाट अर्को गम्भीर जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्। विश्वव्यापी तापक्रम वृद्धिका कारण आर्कटिकमा समुद्री बरफ तीव्र रूपमा घटिरहेको अवस्थामा त्यहाँ जहाजको आवागमन बढ्दा बरफ पग्लिने क्रम थप तीव्र हुन सक्ने उनीहरूको चिन्ता छ।

दक्षिण कोरियाली वातावरणीय संस्था ‘पारान ओसन सिटिजन साइन्स सेन्टर’ले आर्कटिक विश्वको औसतभन्दा करिब चार गुणा तीव्र गतिमा तातिरहेको र त्यसका कारण समुद्री बरफ घट्दै गएको जनाएको छ।

संस्थाका अनुसार समुद्री बरफ घट्नुले उत्तरी समुद्री मार्गलाई थप प्रयोगयोग्य बनाइरहेको छ। तर यसैलाई व्यावसायिक रूपमा सञ्चालन गर्न थप तापक्रम वृद्धि आवश्यक पर्ने अवस्था देखिनु जलवायु परिवर्तन नियन्त्रण गर्ने विश्वव्यापी प्रयाससँग विरोधाभासपूर्ण हुन सक्छ।

आर्कटिकको उत्तरी समुद्री मार्ग वर्षको निश्चित अवधिमा मात्र पर्याप्त बरफ पग्लिएपछि आइसब्रेकरको सहयोगबिना प्रयोग गर्न सकिने मानिन्छ।

यही वातावरणीय जोखिमका कारण विश्वका ठूला समुद्री ढुवानी कम्पनीहरू सीएमए सीजीएम, एमएससी र हापाग–लोयडले आर्कटिक समुद्री मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाइसकेका छन्।

दक्षिण कोरियाको पछिल्लो परीक्षण यात्राले भने बदलिँदो विश्व व्यापार र भूराजनीतिक परिस्थितिबीच नयाँ बहस सुरु हुने देखिएको छ । एजेन्सीको सहयोगमा

 

प्रकाशित: ६ भाद्र २०८३ २०:२९ शनिबार