पश्चिम अफ्रिकी देश बुर्किना फासोको सैन्य जुन्टाले सबै राजनीतिक दलहरूलाई विघटन गरेको छ। सरकारले जनवरी २९ मा अनुमोदन गरेको आदेशअनुसार दलहरू नियन्त्रण गर्ने कानूनहरू पनि खारेज भएका छन्।
यो कदमलाई सन् २०२२ को विद्रोहपछि सत्ता सम्हालेका सैन्य अधिकारी तथा राष्ट्रपति इब्राहिम ट्राओरले नागरिक स्वतन्त्रता र विपक्षीलाई निशाना बनाउने गरेका नीतिहरूको निरन्तरता मानिएको छ।
जुन्टा शासनमा राजनीतिक दलहरूको गतिविधि लामो समयदेखि निलम्बित थियो। नयाँ आदेशले दलहरूको सम्पत्ति राज्यलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था पनि गरेको छ।
मन्त्रिपरिषद् बैठकपछि क्षेत्रीय प्रशासनमन्त्री एमिल जर्बोले भने, ‘सरकारको विश्वास छ कि राजनीतिक दलहरूको विस्तारले अतिक्रमण बढाएको छ, नागरिकहरूमाझ विभाजन बढाएको छ र सामाजिक संरचनालाई कमजोर बनाएको छ।’
भविष्यमा राजनीतिक दल तथा समूहहरूको स्थापनालाई मार्गदर्शन गर्ने मस्यौदा कानूनहरू सकेसम्म चाँडो व्यवस्थापिकामा पेश गरिने उनले जानकारी दिए।
बुर्किना फासो पश्चिम तथा मध्य अफ्रिकाका यस्ता देशहरू मध्ये एक हो जहाँ लोकतान्त्रिक व्यवस्था फर्काउन संघर्ष जारी छ।
सन् २०२२ को सैन्य विद्रोहपछि सत्ता सम्हालेका राष्ट्रपति ट्राओरले यसअघि चुनाव स्थगित गर्ने, स्वतन्त्र निर्वाचन आयोग विघटन गर्ने जस्ता व्यापक सुधारका काम गरिसकेका छन्। एजेन्सी
प्रकाशित: १८ माघ २०८२ ०६:४६ आइतबार