अल्बानियाको राजधानी तिरानाको एक अदालतमा आइतबार बयान दिन पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणबाट अन्य दुई जना घाइते भएको बताइएको छ।
पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजले ती व्यक्तिको मुद्दाको सुनुवाइ गरिरहेका बेला अभियुक्तले गोली चलाएको बताइएको छ। प्रहरीले गोली हान्ने ३० वर्षीय व्यक्तिलाई घटनापछि भाग्ने क्रममा पक्राउ गरिएको बताएको छ।
‘गोली लागी घाइते भएका न्यायाधीशलाई अस्पताल लगिएको तर बाटोमै उनको मृत्यु भएको थियो,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मुद्दाको अर्को पक्षका एक बाबु-छोरालाई पनि गोली हानिएको थियो जसबाट उनीहरु घाइते भएका थिए। उनीहरूलाई अस्पताल लगिएको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर भएको प्रहरीले चिकित्सकलाई उद्धृत गरी जानकारी गराएको छ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार यो मुद्दा सम्पत्तिको विवादबारे थियो र ती व्यक्तिले आफुले मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई गोली हानेका थिए।
अल्बानियाका प्रधानमन्त्री एडी रामाले घटनालाई ‘दुखद’ भन्दै बन्दुकसँग सम्बन्धित अपराधका लागि कडा सजाय हुने बताएका छन्। उनले यस्ता अपराधका लागि आक्रमणकारीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गरेका छन्।
राष्ट्रपति बजराम बेगजले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘सम्पूर्ण न्याय प्रणालीमाथि भयानक आक्रमण’ को संज्ञा दिएका छन्।
अल्बानियाली कानून अनुसार अवैध रूपमा बन्दुक राख्नेलाई तीन वर्षसम्मको जेल सजाय हुन्छ। एएफपी
प्रकाशित: २१ आश्विन २०८२ १२:३० मंगलबार



