अमेरिकाको फ्लोरिडास्थित टिफनी एन्ड कम्पनीको स्टोरबाट सात लाख ६९ हजार ५०० डलर मूल्यका हिराका झुम्का चोरी गरेका एक व्यक्ति दोषी ठहर भएका छन्।
पक्राउ परेपछि चोरीका गहना निलेर प्रमाण लुकाउने प्रयास गरेका जयथन लरेन्स गिल्डरलाई बिहीबार अदालतले दोषी ठहर गरेको हो।
सन् २०२५ फेब्रुअरी २६ मा ओर्लान्डोस्थित मिलेनिया मलमा रहेको टिफनी एन्ड कम्पनीको स्टोरमा चोरी भएको थियो। घटनाका बेला ३२ वर्षका गिल्डरले आफू ओर्लान्डो म्याजिकका एक बास्केटबल खेलाडीको प्रतिनिधि भएको दाबी गरेका थिए। खेलाडीका लागि महँगा गहना किन्न आएको बताएपछि स्टोरका कर्मचारीले उनलाई गहना देखाउन निजी कोठामा लगेका थिए।
प्रहरीका अनुसार गिल्डरले गहना हेर्ने क्रममा दुई जोडी हिराका झुम्का लिएर स्टोरबाट बाहिरिएका थिए। तीमध्ये एउटा जोडी ४.८६ क्यारेटको थियो, जसको मूल्य एक लाख ६० हजार डलर थियो। अर्को जोडी ८.१९ क्यारेटको थियो, जसको मूल्य छ लाख नौ हजार ५०० डलर थियो। दुवै जोडीको कुल मूल्य सात लाख ६९ हजार ५०० डलर रहेको थियो।
घटनाका क्रममा स्टोरका एक कर्मचारी घाइते भएका थिए। त्यसपछि अनुसन्धानकर्ताले स्टोरको निगरानी क्यामेराको दृश्य प्रयोग गरेर गिल्डरको गाडी पहिचान गरेका थिए। उनलाई फ्लोरिडाका विभिन्न स्थानमा यात्रा गरिरहेको अवस्थामा प्रहरीले पछ्याएको थियो।
फ्लोरिडा हाइवे पेट्रोलका अधिकारीले वासिङ्टन काउन्टीमा गिल्डरलाई रोकेका थिए। त्यस क्रममा उनले केही वस्तु निल्न खोजेको प्रहरीले जनाएको छ। अधिकारीहरूले रोक्ने प्रयास गरे पनि उनले चोरीका झुम्का निलेका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिएर जेल लगिएको थियो।
गिरफ्तारीपछि गरिएको शरीरको स्क्यानमा उनको पाचन प्रणालीभित्र बाहिरी वस्तु देखिएका थिए। चोरीका गहना बरामद गर्न अनुसन्धानकर्ताले करिब दुई सातासम्म उनको निगरानी गरेका थिए। पछि गिल्डरको शरीरबाट बाहिर निस्किएका झुम्का बरामद भएका थिए।
बरामद गरिएका झुम्का टिफनी एन्ड कम्पनीमा परीक्षणका लागि पठाइएको थियो। परीक्षणका क्रममा गहनामा रहेका सिरियल नम्बर चोरी भएका झुम्कासँग मेल खाएको पुष्टि भयो। उसरी बरामद गरिएका गहना स्टोरबाट चोरी भएका झुम्का नै भएको पुष्टि भएको हो।
फ्लोरिडाका सरकारी वकिल मोनिक वोरेलले निर्णायक मण्डलले गिल्डरलाई लुटपाट र ठुलो रकमको चोरीसम्बन्धी अभियोगमा दोषी ठहर गरेको घोषणा गरेकी हुन्। अभियोजन पक्षका अनुसार घटनामा महँगा गहना चोरी हुनुका साथै स्टोरका कर्मचारीमाथि भएको हिंसाको विषय पनि समावेश छ।
गिल्डरलाई सजाय सुनाउने मिति भने सार्वजनिक गरिएको छैन।
प्रकाशित: ७ कार्तिक २०८३ १४:२६ शनिबार