कांग्रेस सांसद शशि थरुरले राहुल गान्धी पछिल्ला केही महिनामा युवा मतदातामाझ लोकप्रिय बन्दै गएको भन्दै भाजपालाई उनलाई गम्भीरतापूर्वक लिन सुझाव दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले राहुलको नाम नलिई ‘असफल उत्पादन’ भन्दै टिप्पणी गरेको एक दिनपछि थरुरले यस्तो प्रतिक्रिया दिएका हुन्।
एनडीटीभी विश्व शिखर सम्मेलनमा शुक्रबार बोल्दै थरुरले राहुलले विशेषगरी युवा मतदातामाझ लोकप्रियता बढाएको बताए। उनले भने, ‘मलाई लाग्छ, भाजपाले राहुल गान्धीलाई ध्यान दिन थालेको छ। त्यसैले उनलाई बदनाम गर्ने प्रयास भइरहेको छ।’
यसअघि बिहीबार सोही कार्यक्रममा मोदीले कांग्रेस नेतृत्वमाथि व्यंग्य गर्दै पार्टीले आफ्ना ‘असफल उत्पादन’ सार्वजनिक गर्न देशलाई कहिलेसम्म जोखिममा राख्ने भन्ने प्रश्न गरेका थिए। उनले राहुलको नाम नलिए पनि उक्त टिप्पणी उनैलाई लक्षित रहेको अर्थमा व्याख्या गरिएको छ।
थरुरले कांग्रेसभित्र फरक विचार राख्नु पार्टीको नीतिविपरीत नभएको पनि बताए। पार्टीका केही विषयमा फरक धारणा राखे पनि कांग्रेसको नीतिलाई समर्थन गर्ने उनको भनाइ थियो। उनले आफू पार्टीका तर्फबाट मतदातामाझ जाने नेता हुनुका साथै विदेश मामिलासम्बन्धी संसदीय समितिको अध्यक्षको जिम्मेवारीमा पनि रहेको बताए।
कार्यक्रममा उनले सरकार र निर्वाचन आयोगलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिए। निर्वाचन प्रणालीमा सुधार ल्याउन र प्रत्येक नागरिकको मतदान गर्ने संवैधानिक अधिकार सुनिश्चित गर्न विपक्षी दलहरूले आवाज उठाउनुपर्ने उनको भनाइ थियो।
थरुरले शान्तिपूर्ण विरोध प्रदर्शन नागरिकको लोकतान्त्रिक अधिकार भएको बताए। तर, हिंसालाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै भारतको राजनीतिक अवस्थालाई फ्रान्समा भइरहेका प्रदर्शनसँग तुलना गर्नु उचित नहुने तर्क गरे।
उनले विपक्षी दलहरूबिचको एकतालाई पनि महत्त्वपूर्ण बताए। विभिन्न विचार र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई स्वीकार गर्नु कांग्रेसको विशेषता भएको उनको भनाइ थियो। थरुर यसअघि पनि विभिन्न राजनीतिक विषयमा राहुल गान्धीको बचाउ गर्दै आएका छन्।
प्रकाशित: ७ कार्तिक २०८३ ०६:४७ शनिबार