अन्तर्राष्ट्रिय

पाँच दिनको लडाइँपछि मलेसियामा थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम

थाइल्यान्ड र कम्बोडियाले सीमानामा पाँच दिनको लडाइँपछि युद्धविराम गरेका छन्। दुवै देशका नेताहरूले सोमबार मलेसियामा शान्ति वार्ता गरी तत्काल र बिना सर्त युद्धविराममा सहमति जनाएका हुन्। लडाइँमा कम्तीमा ३५ जना मारिए।  

लामो समयदेखि विवादित क्षेत्रमा भएको युद्धमा दुई पक्षले तोप, रकेट र बन्दुक प्रहार गर्दा दुई लाखभन्दा बढी मानिस भागेका छन्। विवादित क्षेत्रमा प्राचीन मन्दिरहरूको समूह छ। 

सन् १९०७ मा कम्बोडियाको फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमांकनका कारण दुवै पक्षले दाबी गरेको क्षेत्रमा सन् २००८ देखि सन् २०११ मा भएको हिंसापछिको यो सबैभन्दा घातक घटना हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा हस्तक्षेप गरे र दुवै पक्षले ‘छिट्टै समाधान गर्न’ सहमत भएको बताएका थिए।

थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सहमति जनाएका हुन्। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविराम सोमबार मध्यरातबाट लागू हुने जनाएका छन्। 

थाइल्यान्ड र कम्बोडिया दुवै सदस्य रहेको आसियान ब्लकका अध्यक्ष रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निवासमा उनीहरूबिच भेट भएको थियो।

दुवै पक्ष पहिले नै सैद्धान्तिक रूपमा युद्धविराममा सहमत भइसकेका छन्। यद्यपि अर्कोले शान्ति प्रयासहरूलाई कमजोर पारेको आरोप लगाउँदै र क्लस्टर बमको प्रयोग र अस्पतालहरूलाई निशाना बनाउने बारेमा आरोप-प्रत्यारोप गरिरहेका छन्।  

थाइल्यान्डले आफ्ना आठ सैनिक र १४ सर्वसाधारणको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ सर्वसाधारण र पाँच सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।  

थाई सेनाले लडाइँमा मारिएका १२ कम्बोडियाली सैनिकको शव फिर्ता गरेको भनेको छ। एक लाख ३८ हजार बढी मानिस थाइल्यान्डको सीमावर्ती क्षेत्रहरूबाट भागेका छन् भने करिब ८० हजारलाई कम्बोडियामा आफ्नो घरबाट विस्थापित भएका छन्।  

राष्ट्रवादी भावनाहरूलाई उत्तेजित गर्ने झडपका साथ थाइल्यान्डले आफ्ना नागरिकहरूलाई देशमा बसोबास गर्ने कम्बोडियाली आप्रवासीहरू विरुद्ध ‘कुनै पनि प्रकारको हिंसा, चाहे भाषणमा होस् वा कारबाहीमा’ बाट टाढा रहन चेतावनी दिएको छ। एजेन्सी

प्रकाशित: १२ श्रावण २०८२ १८:४० सोमबार