अन्तर्राष्ट्रिय

अफगानिस्तानले पाकिस्तानबाट गहुँ र पीठो किन्ने काम पूर्ण रूपमा बन्द गर्‍यो

अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयात गर्ने काम पूर्ण रूपमा बन्द गरेको छ। लगभग १० वर्षअघि अफगानिस्तानले पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पीठो आयात गरेको थियो।त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयात क्रमशः घटाउँदै लग्यो र अब आएर यो आयात पूर्ण रूपमा शून्यमा झरेको छ।

हालै दुबै देशबीच चर्किएको तनावका कारण अफगान तालिबानले पाकिस्तानसँगको व्यापारिक सम्बन्ध अन्त्य गर्ने चेतावनी दिएको थियो।

अफगानिस्तानले आफ्ना व्यापारीहरूलाई निर्देशन दिँदै पाकिस्तानको सट्टा अन्य देशहरूसँग व्यापारका विकल्प खोज्न भनेको थियो। गत केही दशकदेखि अफगानिस्तानले सबैभन्दा धेरै व्यापार पाकिस्तानमार्फत गर्दै आएको थियो, जुन उसको कुल व्यापारको झण्डै आधा बराबर पर्दथ्यो।

अन्तर्राष्ट्रिय तथा एशियाली बजार निगरानी संस्थाहरूका तथ्यांकअनुसार, सन् २०१५ मा पाकिस्तानले अफगानिस्तानलाई ३२० मिलियन डलर बराबरको पीठो निर्यात गरेको थियो, तर अहिले यो परिमाण पूर्ण रूपमा शून्यमा झरेको छ।

यी तथ्यांकले देखाउँछन् कि अफगानिस्तान अब पीठोका लागि पाकिस्तानमा निर्भर छैन।एजेन्सी

प्रकाशित: १ मंसिर २०८२ ०८:४६ सोमबार