कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई आज विशेष कार्यकारी मजिस्ट्रेटको अदालतमा पेस गरिनेछ। दीपकेलाई शुक्रबार कनाट प्लेसमा ‘लहरा दो तिरंगा’ र्याली हुनुअघि हिरासतमा लिइएको थियो।
८ दिनभित्र दीपकेमाथि यो दोस्रो पटक कारबाही भएको हो। यसअघि अक्टोबर १० मा उनलाई दिल्ली विमानस्थलमा विमानभित्रैबाट हिरासतमा लिइएको थियो। त्यसको भोलिपल्ट उनी रिहा भएका थिए। यस पटक प्रहरीले उनीविरुद्ध भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १२६ र १७० अन्तर्गत कारबाही गरेको छ।
यसै घटनामा अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की अध्यक्ष नेहा बोरासहित करिब १५० जनालाई शुक्रबार हिरासतमा लिइएको थियो। दिल्ली प्रहरीले शनिबार बिहान करिब ६ बजे बोरालाई रिहा गरेको छ। प्रहरीका अनुसार दिल्ली प्रहरी ऐनको धारा ६५ अन्तर्गत हिरासतसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई छाडिएको हो।
सौरभ र आशुतोष पाँच दिनका लागि न्यायिक हिरासतमा
सीजेपीका प्रवक्ता आशुतोष रांका र सौरभ दासलाई दिल्लीको विशेष अदालतले पाँच दिनका लागि न्यायिक हिरासतमा तिहाड जेल पठाएको छ। उनीहरूलाई अक्टोबर १३ को बिहान जन्तरमन्तरमा प्रदर्शनका क्रममा हिरासतमा लिइएको थियो।
उनीहरूको हिरासत अवधि अक्टोबर १८ मा सकिनेछ। त्यसपछि प्रहरीले उनीहरूलाई पुनः अदालतमा उपस्थित गराउनेछ। त्यसपछि थप कारबाहीबारे निर्णय हुनेछ।
दिल्ली प्रहरीमाथि आइसाको आरोप
आइसाले नेहा बोरालाई प्रहरीले हिरासतमा राखेको विषयमा विभिन्न आरोप लगाएको छ। मध्यरातमा प्रहरी चौकीमा ल्याएपछि प्रहरीले वकिलहरूलाई नेहासँग भेट्न नदिएको र भेट्न दिइएको समयमा प्रहरी तथा रेकर्डिङ क्यामेरा उपस्थित रहेको, नेहा बोरालाई पाँच घण्टासम्म दिल्लीका विभिन्न स्थानमा एक ठाउँबाट अर्को ठाउँमा घुमाइएको र नेहा पछिल्ला केही दिनदेखि बिरामी रहेको थाहा हुँदाहुँदै पनि प्रहरीले उनलाई औषधि दिन अस्वीकार गरेको आरोप लागेको छ।
राष्ट्रिय झण्डा फहराउने विषयमा दिल्ली प्रहरीद्वारा निर्देशिका जारी
यसैबीच, ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को ‘लहरा दो तिरंगा’ मार्चपछि दिल्ली प्रहरीले राष्ट्रिय झण्डाको उचित प्रयोग, प्रदर्शन र संरक्षणका लागि निर्देशिका जारी गरेको छ।
निर्देशिकामा राष्ट्रिय झण्डाको सम्मान गर्नुपर्ने र यसलाई सधैँ सम्मानजनक अवस्थामा प्रदर्शन गर्नुपर्ने उल्लेख छ। झण्डा जमिनमा छुन वा पानीमा घिसारिन दिन नहुने बताइएको छ।
निर्देशिकामा उल्लेख गरिएका मुख्य प्रावधानहरू:
- राष्ट्रिय झण्डा उल्टो अर्थात् केसरिया पट्टी तल हुने गरी फहराउन पाइँदैन। सरकारी निर्देशनबाट विशेष अनुमति प्राप्त भएको अवस्थामा बाहेक झण्डा आधा झुकाएर पनि फहराउन पाइँदैन।
- राष्ट्रिय झण्डालाई कपडा वा पोसाकको हिस्साका रूपमा प्रयोग गर्न पाइँदैन। कुशन, रुमाल वा न्यापकिनजस्ता सामग्रीमा पनि झण्डा छाप्न पाइँदैन।
- झण्डामाथि कुनै कुरा लेख्न वा सजावटका लागि कपडाको रूपमा प्रयोग गर्न निषेध गरिएको छ। निजी अन्त्येष्टिका क्रममा पनि यसको प्रयोग यसरी गर्न पाइँदैन।
- झण्डा फहराउनुअघि विशेष अवसरमा त्यसमा फूलका पंखुडी राख्नेबाहेक अन्य वस्तु बोक्न वा समात्न झण्डाको प्रयोग गर्न पाइँदैन।
- मूर्ति, स्मारक, भाषण गर्ने डेस्क वा मञ्च छोप्न राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइँदैन।
- कुनै सवारीसाधन, रेल, डुङ्गा वा विमानको कुनै भागमा झण्डा बेर्न पाइँदैन। त्यस्तै, कुनै भवन छोप्नका लागि पनि राष्ट्रिय झण्डाको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।
प्रकाशित: ३१ आश्विन २०८३ ०८:३० शनिबार