अन्तर्राष्ट्रिय

छानबिनको माग उठेपछि अभिजीतको चुनौती : म छात्रवृत्ति देखाउन तयार छु, के मोदीले डिग्री देखाउन सक्छन् ?

कक्रोज जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले आफ्नो विदेशी शिक्षा र आर्थिक स्रोतमाथि सूचनाको हक (आरटीआई) मार्फत छानबिनको माग उठेपछि स्पष्ट जवाफ दिएका छन्।

उनले आफ्नो छात्रवृत्ति र शिक्षा ऋणका कागजात सार्वजनिक गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा भिडियो जारी गर्दै दिपकेले भने, ‘म मेरो छात्रवृत्ति पत्र र शिक्षा ऋण पत्र देखाउन तयार छु। के तपाईंका नेताहरूले आफ्नो वास्तविक डिग्री देखाउन सक्छन् ?’ उनले बोस्टन विश्वविद्यालयमा अध्ययन गरेका एक सामान्य परिवारका व्यक्तिलाई किन यति धेरै प्रश्न गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

गुजरात सूरतका आरटीआई कार्यकर्ता अमित तिवारीले महाराष्ट्र सरकार, निर्वाचन आयोग र केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) लाई पत्र लेखेर छानबिनको माग गरेका छन्। तिवारीका अनुसार दिपकेका बुबा भगवानराव दिपके महाराष्ट्र औद्योगिक विकास निगम (एमआईडीसी) का सेवानिवृत्त जुनियर इन्जिनियर हुन्। उनले मासिक ६० देखि ६५ हजार भारतीय रुपैयाँ कमाउने भगवानरावले छोराको महँगो अमेरिकी शिक्षा कसरी सम्भव गरे भनेर प्रश्न उठाएका छन्। परिवारको आयस्रोत र आर्थिक क्षमता स्पष्ट पार्न अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

६० हजार तलब भएका अभिजीतका बुबाले छोरालाई कसरी अमेरिकामा पढाए भन्दै छानबिनको माग

तिवारीले सीजेपी दर्ता नभएको संस्था भए पनि राजनीतिक दल जस्तै सञ्चालन भइरहेको आरोप लगाएका छन्। उनका अनुसार यदि यसको नाममा एक करोड भारतीय रुपैयाँको कानुनी प्रतिरक्षा कोष उठाइँदैछ भने निर्वाचन आयोगले जनप्रतिनिधित्व ऐन, १९५१ अन्तर्गत दर्ता छ कि छैन भनेर जाँच गर्नुपर्छ। वरिष्ठ अधिवक्ता तथा राज्यसभा सांसद कपिल सिब्बलले नीट पेपर लीक विरोधका प्रदर्शनकारीहरूका लागि घोषणा गरेको एक करोड रुपैयाँमा १८ प्रतिशत जीएसटी लाग्छ कि लाग्दैन भनेर पनि छानबिनको माग गरेका छन्।

दिपकेले बोस्टन विश्वविद्यालयको शिक्षा छात्रवृत्ति र शिक्षा ऋणबाट भएको बताउँदै आएका छन्। सीजेपी २०२६ को मे महिनामा भारतका सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुर्यकान्तले बेरोजगार युवाहरूलाई ‘कक्रोज’ अर्थात् साङ्लासँग तुलना गरेपछि सुरु भएको व्यंग्यात्मक आन्दोलन हो। जुन महिनामा भारत फर्केर दिपकेले दिल्लीको जन्तर मन्तरमा नीट परीक्षाको प्रश्नपत्र चुहावटविरुद्ध प्रदर्शनको नेतृत्व गरेका थिए। यस आन्दोलनपछि तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपरेको थियो।

३० वर्षका दिपके महाराष्ट्रका छत्रपती सम्भाजीनगरका हुन्। उनले पुणेमा पत्रकारिता पढेका थिए र पहिले आम आदमी पार्टीसँग सामाजिक सञ्जाल रणनीतिमा काम गरेका थिए। हालसम्म कुनै अनुसन्धान एजेन्सीले आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन।

प्रकाशित: १८ श्रावण २०८३ १९:२० सोमबार