अन्तर्राष्ट्रिय

ट्रम्पलाई झट्का : ग्रिन कार्ड धारकका पक्षमा न्यायाधीशको यस्तो आदेश

अमेरिकी संघीय न्यायाधीश इन्दिरा तलवानीले शुक्रबार ट्रम्प प्रशासनले १० हजारभन्दा बढी अमेरिकी नागरिक तथा ग्रिन कार्ड धारकका परिवारका सदस्यहरूलाई दिएको अस्थायी कानुनी सुरक्षा (परिवार पुनर्मिलन प्यारोल कार्यक्रम) अन्त्य गर्ने प्रयासलाई अस्थायी रूपमा रोक्ने आदेश दिने संकेत दिएकी छन्।

यो कार्यक्रम कोलम्बिया, क्युबा, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हैटी र होन्डुरसका मानिसहरूलाई असर गर्छ। धेरैजसोले जनवरी १४ सम्म यो सुरक्षा गुमाउने तयारीमा थिए।

न्यायाधीशले सरकारसँग कार्यक्रम अन्त्य गर्ने अधिकार भएपनि यसरी गर्ने तरिका गलत भएको बताइन्। विशेष गरी प्रभावितहरूलाई व्यक्तिगत लिखित सूचना (पत्र वा इमेल) नदिई केवल संघीय रजिस्ट्रीमा प्रकाशित गरेकोमा आपत्ति जनाइन्।

वादी पक्षका वकिल जस्टिन कोक्सले भने, ‘सरकारले आवेदन दिन आमन्त्रित गरेपछि अब ती मानिसहरू र ग्रिन कार्ड प्राप्त गर्ने बीचमा पासो बिछ्याउँदैछ। यो अविश्वसनीय रूपमा अन्यायपूर्ण छ।’

सरकारले भने यो कार्यक्रम राष्ट्रिय सुरक्षाका आधारमा अन्त्य गर्नुपरेको र प्यारोल जुनसुकै बेला समाप्त गर्न सकिने तर्क दिएको छ।

न्यायाधीशले भनिन्, ‘म बुझ्छु किन वादीहरूलाई लाग्छ कि उनीहरू यहाँ आएर यी सबै योजनाहरू बनाएका थिए र धेरै लामो समयसम्म यहाँ रहनेछन्।’

यो आदेशले परिवारहरूलाई अस्थायी राहत दिएपनि मुद्दा अझै चलिरहनेछ। एपी

प्रकाशित: २८ पुस २०८२ ०७:५४ सोमबार