एक साता अघि रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नौ दक्षिण कोरियाली नागरिकको खोजीलाई तीव्र बनाउन दक्षिण कोरियाले ४४ सदस्यीय विपद् राहत टोली नेपाल पठाएको छ।
टोली बुधबार बिहान काठमाडौं आइपुगेको हो। दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) र अग्नि नियन्त्रण अधिकारीसहितको कोरिया विपद् राहत टोली (केडीआरटी) वायु सेनाको केसी-३३० साइग्नस विमानबाट काठमाडौं पुगेको हो।
उक्त टोलीले नेपाली अधिकारी र नेपालमा खटिएको दक्षिण कोरियाली सरकारी आपत्कालीन प्रतिक्रिया टोलीसँग समन्वय गरेर खोजी तथा उद्धार अभियान सञ्चालन गर्नेछ। टोलीको प्रारम्भिक तैनाथी करिब १० दिनका लागि तय गरिएको छ। घटनास्थलको अवस्थाअनुसार तैनाथी अवधि थप गर्न सकिने कोरियाली अधिकारीले बताएका छन्।
टोलीसँग पाँच वटा उद्धार कुकुर र बेपत्ता व्यक्तिको खोजीमा प्रयोग हुने अत्याधुनिक उपकरण पनि छन्। तीमध्ये उच्च क्षमताका ड्रोन, भग्नावशेषभित्र रहेका व्यक्तिको आवाज तथा भिडियो पहिचान गर्ने उपकरण र तापीय दृश्य देखाउने उपकरण समेत छन्।
बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना निर्माणस्थलबाट नौ दक्षिण कोरियाली नागरिक बेपत्ता भएका थिए। उनीहरूमध्ये छ जना डुसान इनरबिलिटी कम्पनीका र तीन जना कोरिया साउथ-इस्ट पावर कम्पनीका कर्मचारी हुन्।
बेपत्ता नागरिकको खोजीका लागि यसअघि नै नेपाली तथा दक्षिण कोरियाली उद्धार टोलीले हेलिकोप्टर, ड्रोन र उद्धार कुकुरलगायतका साधन प्रयोग गर्दै आएका छन्। तर खोजी क्षेत्र ठुलो हुनुका साथै कठिन भूभाग, भग्नावशेष र हिलोका कारण उद्धारमा चुनौती भइरहेको छ।
बाढीबाट प्रभावित रसुवाको धुन्चे क्षेत्रमा पनि उद्धार टोली पुगेको छ। धुन्चे माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको बाँधबाट करिब दुई किलोमिटर टाढा पर्छ। नयाँ कोरियाली टोली धुन्चेमै बसेर नेपाली सेनासँग संयुक्त रूपमा हेलिकोप्टर, ड्रोन र जमिनबाट खोजी गर्नेछ।
बेपत्ता व्यक्तिको मोबाइल फोनको स्थान पहिचान गर्न सकिने विकल्पबारे पनि नेपाली अधिकारीसँग छलफल भइरहेको कोरियाली अधिकारीले बताएका छन्।
डुसान इनरबिलिटीले पनि उच्च क्षमताका ड्रोन र हेलिकोप्टर प्रयोग गरेर हवाई खोजी गरिरहेको छ। कम्पनीले हवाई खोजीका क्रममा खिचिएको भिडियोको विस्तृत अध्ययन गर्ने जनाएको छ।
त्यस्तै, कोरिया साउथ-इस्ट पावरले ड्रोन र खोज तथा उद्धार कुकुर प्रयोग गरिरहेको छ। कम्पनीले घटनास्थलमा खोजी अभियानलाई थप सहयोग गर्न कर्मचारी पठाउनेबारे पनि विचार गरिरहेको जनाएको छ।
प्रकाशित: १७ भाद्र २०८३ ०९:४३ बुधबार