अन्तर्राष्ट्रिय

चीनमा १० टनको विद्युतीय विमान पहिलोपटक मान्छे बोकेर उड्यो, यस्ता छन् विशेषता

चीनमा विकसित १० टन क्षमताको विद्युतीय व्यावसायिक विमानले पहिलोपटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ।

१९ यात्रु बोक्न सक्ने यो विमानको सफल परीक्षणलाई विद्युतीय हवाई यातायातको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

सीई-२५ए नाम दिइएको उक्त विमानले शनिबार चीनको शान्दोङ प्रान्तस्थित बिन्झाउ सहरमा पहिलो मानवसहितको उडान गरेको हो। उडानमा दुई पाइलट र एक परीक्षण इन्जिनियर सवार थिए।

परीक्षणका क्रममा विमानका प्रणाली सामान्य रूपमा सञ्चालन भएका थिए भने उडानका सबै प्रमुख सूचक अपेक्षाअनुसार रहेको बताइएको छ। 

उडान परीक्षणको कुल समय ५७ मिनेट ४६ सेकेन्ड रहेको थियो। यस अवधिमा विमान १६ मिनेट ३८ सेकेन्डसम्म हावामा रहेर ६०.४ किलोमिटर दूरी पार गरेको थियो।

सीई-२५ए मा अधिकतम १९ यात्रु बोक्ने क्षमता रहेको छ भने यसको अधिकतम उडान भार १० मेट्रिक टन छ। विमानको क्रुजिङ गति प्रतिघण्टा ३०० किलोमिटर, उडान उचाइ दुई हजार ४०० मिटर र अधिकतम दूरी क्षमता ४०० किलोमिटर रहेको बताइएको छ।

यस विमानमा विद्युतीय मोटरबाट सञ्चालित १० वटा विशेष पङ्खा प्रयोग गरिएको छ। पखेटाको माथिल्लो भागमा जडान गरिएका यी पङ्खाले विमानलाई उड्न आवश्यक शक्ति प्रदान गर्छन्।

मानवसहितको उडानअघि सीई-२५एले गत फेब्रुअरी २ मा पहिलो स्वचालित मानवरहित उडान गरेको थियो। त्यसपछि विमानले १९ वटा मानवरहित परीक्षण उडान पूरा गरेको थियो।

यो विमान चीनको विमान निर्माता कम्पनी कोम्याक, ब्याट्री निर्माता कम्पनी क्याटल, सांघाई जियाओ टोङ विश्वविद्यालयलगायत संस्थाको सहकार्यमा विकास गरिएको हो।

यसैबिच, चीनको नागरिक उड्डयन प्रशासनले विमानको प्रकार प्रमाणीकरणका लागि दिइएको आवेदन स्वीकार गरिसकेको छ। यससँगै विमानको हवाईयोग्यता परीक्षण तथा प्रमाणीकरण प्रक्रिया अघि बढ्नेछ।

यद्यपि, आवेदन स्वीकार हुनुको अर्थ विमानले व्यावसायिक उडान सञ्चालन गर्ने अनुमति पाइसकेको भन्ने होइन। यात्रु बोकेर नियमित व्यावसायिक उडान गर्नुअघि यसले आवश्यक प्राविधिक परीक्षण र प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ। एजेन्सी

प्रकाशित: ३० कार्तिक २०८३ १२:२५ सोमबार