अन्तर्राष्ट्रिय

२५ वर्षपछि पनि ९/११ अमेरिकीका लागि ‘सबैभन्दा अविस्मरणीय’ घटना

फाइल तस्बिर

सेप्टेम्बर ११, २००१ मा अमेरिकामा भएको आतंकवादी आक्रमणको २५ वर्षपछि पनि यो घटना धेरै अमेरिकीका लागि जीवनकै सबैभन्दा महत्वपूर्ण ऐतिहासिक घटनामध्ये एक रहेको नयाँ सर्वेक्षणले देखाएको छ।

इप्सोसले गरेको सर्वेक्षणमा करिब आधा अमेरिकी वयस्कले आफ्नो जीवनकालका सबैभन्दा महत्वपूर्ण ऐतिहासिक घटनाबारे सोध्दा ९/११ को आक्रमण उल्लेख गरेका हुन्। कोरोना महामारी, बाराक ओबामा र डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचनलगायत त्यसपछिका महत्वपूर्ण घटनाका बाबजुद ९/११ को प्रभाव बलियो देखिएको हो।

सर्वेक्षणअनुसार अधिकांश अमेरिकीले आक्रमणबारे पहिलो पटक सुन्दा आफू कहाँ थिए भन्ने सम्झन्छन्। करिब दुई तिहाइले ९/११ ले अमेरिकालाई ‘धेरै असर पारेको’ बताएका छन्। ग्यालपको अर्को सर्वेक्षणमा करिब ३० प्रतिशत अमेरिकीले ९/११ का कारण आफ्नो जीवन बिताउने तरिका स्थायी रूपमा परिवर्तन भएको बताएका छन्।

उमेरअनुसार ९/११ को सम्झना फरक देखिएको छ। ३५ वर्षमुनिका करिब आधा अमेरिकीले कोरोना महामारीलाई आफ्नो जीवनको सबैभन्दा प्रभावशाली घटनामध्ये एक मानेका छन् भने करिब एक तिहाइले ९/११ उल्लेख गरेका छन्। आक्रमणपछि जन्मिएका करिब ६० प्रतिशत वयस्कले विद्यालय वा कक्षामै पहिलो पटक ९/११ बारे थाहा पाएको बताएका छन्।

९/११ ले अमेरिकाको सुरक्षाबारे धारणा पनि परिवर्तन गरेको छ। इप्सोसका अनुसार करिब एक तिहाइ अमेरिकीले देश अहिले पहिलेभन्दा सुरक्षित भएको बताएका छन् भने उस्तै संख्याले कम सुरक्षित भएको बताएका छन्। बाँकीले आक्रमणअघिकै जस्तो सुरक्षा अवस्था रहेको बताए।

इप्सोसको सर्वेक्षणमा एक हजार १३ अमेरिकी वयस्क सहभागी थिए, जुन अगस्ट २१ देखि २३ सम्म गरिएको थियो। एजेन्सी

प्रकाशित: २६ भाद्र २०८३ ०७:३४ शुक्रबार