१० वर्षीय बालकलाई अपहरण गरेर फिरौती माग्ने ८ जना युट्युबर पक्राउ परेका छन्।
घटना भारत, उत्तर प्रदेश कानपुरको हो।
त्यहाँ १० वर्षीय बालक हर्षललाई केही युट्युबरहरूले अपहरण गरेर दुई लाख भारतीय रुपैयाँ फिरौती मागेका थिए। पक्राउ परेपछि उनीहरूले प्र्याङ्कको बहाना गरेका हुन्।
आजतकका अनुसार बच्चालाई जबरजस्ती फोन गराएर आमासँग २ लाख रुपैयाँ फिरौती मागेका थिए। बालकले रोएर आमासँग भने, ‘केही केटाहरूले मलाई अपहरण गरेका छन्, रिहाइको लागि २ लाख दिनुहोस्।’
उक्त कुरा सुनेपछि परिवार त्रसित भयो। सबैजना डरले विचलित भए।
गत बुधबार साँझ करिब साढे ७ बजे (स्थानीय समय) हर्षल घर नजिकै तरकारी किन्न गएका थिए। बाटोमा दुई जना युवकले उनलाई कुराकानीमा व्यस्त बनाएर एकान्त ठाउँमा लगे।
अनि त्यहाँ धम्की दिँदै भने, ‘यो फोन लिएर आमालाई फोन गर, २ लाख माग।’ बालकले आमालाई फोन गरेर रुँदै भनेपछि फोन काटियो।
यसबाट आमा प्रभावती चिन्तित भइन्। २५ मिनेटपछि अर्को नम्बरबाट फोन गरेर ‘अब ५ हजार रुपैयाँ किदवई नगरको यूपी किराणा स्कूलमा पुर्याउनु’ भनिएको थियो। राति करिब ९:४५ बजे (स्थानीय समय) अपहरणकारीहरूले आफूलाई युट्युबर भनेर चिनाए।
उनीहरूले भने, ‘यो मजाक हो, प्र्याङ्क हो, हामी भिडियो बनाइरहेका थियौं।’ अनि बच्चालाई छोडिदिए।
परिवारले गुजैनी प्रहरी चौकीमा उजुरी दियो। प्रहरीले तत्काल ४८ घण्टाभित्र १५० भन्दा बढी सीसीटीभी फुटेज स्क्यान गरेर अनुसन्धान थाल्यो। फोन कलहरू आन्ध्र प्रदेश र कन्नौजका नम्बरबाट आएको पत्ता लाग्यो।
अन्ततः ३ नाबालिगसहित ८ जना युट्युबर पक्राउ परे। उनीहरूमा अरविन्द सिंह, चन्दन कुमार, लक्की, मोहम्मद शाहिद, अमन कटियार र अन्य तीन नाबालिग छन्। अमन कटियारमाथि पहिले नै चोरीका दुई मुद्दा थिए।
पक्राउ परेपछि अभियुक्तहरूले कान समातेर माफी मागे। उनीहरूले भने, ‘हामीले गल्ती गर्यौं, फेरि यस्तो दोहोर्याउँदैनौं।’ उनीहरूले सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो बनाएर युट्युब र इन्स्टाग्राममा पोस्ट गर्ने गरेको बताए। उनीहरूका अकाउन्टमा १५० देखि २०० आपत्तिजनक भिडियो फेला परेका छन्।
डीसीपी दीपेन्द्र नाथ चौधरीका अनुसार प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान जारी राखेको छ।
प्रकाशित: ३ फाल्गुन २०८२ १३:४० आइतबार