उता, अदालती फैसलापछि दार्जिलिङ पहाडमा 'तैं चुप मैं चुप'को अवस्था छ।
पाँच बर्षअघिको तामाङ हत्याकाण्डमा मोर्चाको हात रहेको ठहर गर्दै न्यायाधीस गोपालचन्द्र कर्मकारले '२३ जनालाई २० दिनभित्र पक्रेर अदालतमा उपस्थित गराउन' केन्द्रिय जाँच ब्युरो (सिविआई)लाई निर्देशन दिएलगत्तै मोर्चाले यो गम्भीर मुद्दाबाट उम्किन सबैखालका दाउपेच अपनाएको हो। 'कानुनभन्दा माथि कोही नहुने' भन्दै विपक्षीहरु एकत्रित भइरहेको अवस्थामा मोर्चाले पनि कानुनी लडाईंबाटै बच्ने उपाउ खोजेको हो।
'अदालतको आदेशपछि मोर्चाका नेता पक्राउ पर्नसक्ने त्रासले दार्जिलिङ पहाडमा जुनखाले सन्नाटा छायो, त्यो स्थिति आउन नदिन सबैखाले कानुनी दाउपेच अपनाइनेछ' मोर्चाका एक नेताले नागरिकलाई टेलिफोनमा भने, '२० दिनको म्याद भएकाले पनि स्थिति आफू अनुकूल पार्न धेरै कठिन छैन।' अदालतले सिविआईका कोलकातास्थित एसपीलाई अभियुक्त पक्रिने जिम्मेवारी दिएकाले पनि मोर्चालाई केही सहज छ।
अखिल भारतीय गोर्खा लीग (अभागोली)का तत्कालीन अध्यक्ष तामाङको हत्यामा आफ्नो पार्टीका शीर्ष नेताको संलग्नता पत्याउनै नसकिने जिकिर गर्दै मोर्चाको कानुन विभाग सदस्य रिगेन लामाले यो मुद्दामा निर्दोष सावित हुन माथिल्लो अदालत जाने बताउँदैछन्। 'हामी अग्रिम जमानीलाई कोलकाता उच्च न्यायालय जानेछौं' लामाले भनेका छन्, 'शुभेच्छुक र कार्यकर्ता विचलित हुन नदिन यो प्रक्रिया थालिसकेका छौं।'
अदालतले पक्राउ गर्न निर्देशन दिएका नेतामा मोर्चा अध्यक्ष विमल गुरुङ, नारी मोर्चा प्रमुखसमेत रहेकी गुरुङ पत्नी आशा, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, विधायक हर्कबहादुर क्षेत्री, जिटिए उपप्रमुख रमेश आले, जिटिए चेयरम्यान प्रदीप प्रधान तथा दिनेश थिङ र देवेन्द्र शर्मा छन्। मोर्चाका वकिलले शीर्ष नेतामाथिको पक्राउ आदेश रोक्न सक्दो कोशिस गरे पनि असफल हुँदा दार्जिलिङमा सन्नाटा छाएको हो।
अदालतको आदेशसँगै 'मोर्चा नेतृत्व पक्राउ परे पहाडमा आगो फैलिने' चेतावनीसहितका बेनामे पम्प्लेट टाँसिएपछि शनिवारयता दार्जिलिङको स्थिति खल्बलिएको हो। आइतवार स्वस्फुर्तरुपमा बन्द भएको दार्जिलिङ सोमवार सामान्य रह्यो। मानिसमा अन्योल छाए पनि सडकमा आंशिकरुपमा सवारी साधन चलिरहे। गर्मी छल्न आएका पर्यटक मन त्रास लिएर पनि 'पहाडकी रानी' भनिने दार्जिलिङ शहरका विभिन्न भागमा घुमिरहे।
मोर्चाले स्थिति थप अन्योल र त्रासपूर्ण हुन नदिन आफ्नो तर्फबाट दार्जिलिङमा बन्द–हड्तालका कुनै कार्यक्रम नभएको प्रष्ट्याइसकेको छ। १५ सय हाराहारीको उपस्थितिमा आन्तरिक सभा सकेपछि मोर्चा नेता सावन राईले सञ्चारकर्मीसँग कुरा गर्दै भने, 'तामाङ हत्याकाण्डमा जोगिन सबै खाले कानुनी लडाईं लड्नेछौं, आत्तिइहाल्नुपर्ने स्थिति नभएकाले सबैलाई सामान्य रहन आग्रह गरिन्छ, कतैबाट अस्थिरता उत्पन्न गराइनुहुँदैन।'
सीमावर्ती मेघ्मा भन्ने लेकाली गाउँमा जन्मिएका अभागोली अध्यक्ष तामाङको २१ मे २०१० का दिन दार्जिलिङकै क्लव साइडमा हत्या भएको थियो। उनी दार्जिलिङका समकालीन राजनीतिज्ञमध्ये 'बौद्धिक, तार्किक र दूरदर्शी' मानिन्थे। हत्याको जाँच सिविआईले गर्दै आएको थियो। उनको हत्यापछि उनकै पत्नी भारती तामाङ अभागोली प्रमुख छन्, जुन पार्टीले शान्तिपूर्ण राजनीतिमार्फत 'गोर्खाल्याण्ड' चाहँदै आएको छ।
खल्बलिन लागेको दार्जिलिङको राजनीतिक अवस्थाबारे अभागोली महासचिव प्रताप खातीले 'अदालतले पक्राउ आदेश दिएका व्यक्ति उम्किन नहुने' भन्दै उनीहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन्। मोर्चाका नेता फरार हुनसक्ने खतरा औंल्याउँदै उनले सिलिगुडीमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, 'कानुन सबैभन्दा बलियो हुन्छ, तामाङ हत्याकाण्डका कुनै पनि दोषी उम्किनु सरासर अन्याय हुनेछ।'
प्रकाशित: २५ जेष्ठ २०७२ ०७:४१ सोमबार