अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा रोक्न ७० हजार सुरक्षाकर्मी परिचालन, आज पनि प्रदर्शन

फ्रान्समा गत साता भएको हिंसापछि आज फेरि महँगीविरुद्ध देशव्यापी प्रदर्शन हुने भएका छन्। हिंसा र लुटपाट रोक्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूसँगै प्रहरीका विशेष टोली, करिब २० वटा बख्तरबन्द गाडी र पानीको फोहोरा प्रहार गर्ने १५ वटा गाडीसमेत तैनाथ गरिनेछ।

गत शनिबार पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी हुन सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा पसलहरूमा तोडफोड, लुटपाट तथा सवारीसाधनमा आगजनी भएको थियो। हालसम्म दुई हजार ७०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन्।

परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न सहरमा कर्फ्यु लगाइएको छ भने मानिसहरू भेला हुन प्रतिबन्ध लगाइएको छ। पेरिसस्थित लुभ्र सङ्ग्रहालय बन्द रहनेछ। पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीच हुने भनिएको फुटबल खेलसमेत स्थगित गरिएको छ।

विद्यालयहरूको खराब अवस्थालाई लिएर सुरु भएको आन्दोलन अहिले महँगी, बढ्दो खर्च र सरकारी सुविधामा कटौतीको विरोधमा समेत फैलिएको छ।

म्याक्रोंद्वारा विद्यार्थी संगठनका प्रतिनिधिसँग भेट

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले शुक्रबार विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग भेट गरेका छन्। विद्यालयको अवस्थालाई लिएर एक महिनाभन्दा बढी समयअघि प्रदर्शन सुरु भएयता विद्यार्थी संगठनसँग उनको यो पहिलो प्रत्यक्ष भेट हो।

म्याक्रोंले सप्ताहान्तमा मजदुर संगठनका प्रदर्शनलाई मात्रै अनुमति दिइने बताएका थिए। उनको यो निर्णयप्रति विद्यार्थी संगठनहरू असन्तुष्ट छन्। फ्रान्सको प्रमुख विद्यार्थी संगठन ‘युनेफ’ले आज र्‍याली निकाल्ने घोषणा गरेको छ।

संगठनले म्याक्रोंले नागरिकको प्रदर्शन गर्न पाउने अधिकार खोसिरहेको आरोप लगाएको छ। प्रतिबन्धका बाबजुद र्‍याली निकाल्ने आफ्नो निर्णयमा संगठनले अडिग रहेको स्पष्ट पारेको छ।

विभिन्न सहरमा कर्फ्यु, भेला हुन प्रतिबन्ध

हिंसा रोक्न पेरिसमा लगाइएको रात्रिकालीन कर्फ्युलाई सोमबारसम्म विस्तार गरिएको छ। मार्सेई र लियोनमा शनिबार मानिसहरू भेला हुन नपाउने व्यवस्था गरिएको छ। ती सहरमा सार्वजनिक यातायातमाथि पनि प्रतिबन्ध लगाइएको छ।

बोर्दो, निस र उत्तरी फ्रान्सका विभिन्न सहर तथा बस्तीमा समेत रातिको समयमा कर्फ्यु लगाइएको छ। केही स्थानमा बालबालिका तथा किशोरकिशोरीलाई राति घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। पेरिसका प्लास द ला रिपब्लिक र लेस हाल्सजस्ता क्षेत्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रतिबन्ध लागू गरिएको छ।

वामपन्थी दल ‘फ्रान्स अनबाउड’ले यी प्रतिबन्धको आलोचना गरेको छ। दलका नेता जिन–लुक मेलाँसोंले सरकार र प्रहरीको कार्यशैलीका कारण परिस्थिति झन् बिग्रिएको बताएका छन्।

तीन हजार बढी पसलमा क्षति

सरकारी अनुमानअनुसार गत सप्ताहान्त फ्रान्समा कम्तीमा तीन हजार पसलमा क्षति पुगेको वा लुटपाट भएको थियो। व्यवसायीहरूको संगठनका अनुसार यसबाट करोडौँ अमेरिकी डलर बराबरको नोक्सानी भएको छ।

पेरिसमा सुपरमार्केट, विद्युतीय सामग्रीका पसल, बैंक तथा महँगा ब्रान्डका सोरुमलाई निशाना बनाइएको थियो। बोर्दोमा पनि धेरै पसलमा तोडफोड भएको थियो।

उपद्रवमा संलग्न व्यक्तिहरूले सवारीसाधनमा आगजनी गर्नुका साथै सडकमा अवरोध खडा गरेका थिए। बस बिसौनीजस्ता सार्वजनिक सुविधामा समेत क्षति पुर्‍याइएको थियो।

मध्य फ्रान्सको लिमोज सहरमा १९औँ शताब्दीमा बनेको ऐतिहासिक टाउन हलको भवनमा समेत क्षति पुगेको छ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाबाट प्रभावित व्यवसायीलाई करमा राहत तथा आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

नोभेम्बर ५ मा हडतालको तयारी

विद्यार्थी संगठन र ‘येलो भेस्ट’ आन्दोलनसँग आबद्ध व्यक्तिहरूले शनिबार फेरि प्रदर्शन गर्ने तयारी गरेका छन्। मजदुर संगठनहरूले नोभेम्बर ५ मा हडताल गर्ने घोषणा गरेका छन्।

सरकारले हिंसा पुनः भड्किएमा अन्य क्षेत्रमा पनि कर्फ्यु लगाउन सकिने चेतावनी दिएको छ।

राष्ट्रपति म्याक्रोंले हिंसाका लागि कट्टरपन्थी वामपन्थी समूह र लुटपाटमा संलग्न व्यक्तिहरूलाई जिम्मेवार ठहराएका छन्। प्रधानमन्त्री लेकोर्नुले पनि केही व्यक्तिले जानाजानी प्रहरी, सरकारी भवन तथा अन्य सम्पत्तिलाई निशाना बनाएको आरोप लगाएका छन्।

यता, प्रमुख विपक्षी दलकी नेतृ मरिन ले पेनले म्याक्रों नेतृत्वको सरकार कानुन र व्यवस्था कायम राख्न असफल भएको आरोप लगाएकी छन्। उनले देश गम्भीर संकटबाट गुज्रिरहेको र यसले लोकतन्त्रमाथि खतरा उत्पन्न गर्न सक्ने बताएकी छन्। एजेन्सी

प्रकाशित: ७ कार्तिक २०८३ ०९:२८ शनिबार