अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा हर्मुजको जलघाँटी आसपास व्यापारिक जहाजसम्बन्धी ६८ घटना भएका छन्। अन्तर्राष्ट्रिय समुद्री सङगठन (आइएमओ) का अनुसार ती घटनामा कम्तीमा २० जना नाविक तथा बन्दरगाह कामदारको मृत्यु, ३५ जना घाइते र एक जना बेपत्ता भएका छन्। 

संयुक्त राष्ट्रसङ्घको सामुद्रिक निकायका अनुसार घटनामध्ये करिब आधामा ट्याङ्कर, २० प्रतिशतमा कन्टेनर जहाज र १५ प्रतिशतमा बल्क क्यारियर संलग्न थिए। युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले ४७ घटनालाई आक्रमणका रूपमा वर्गीकरण गरेको छ । लाइबेरियाको झण्डा बोकेका जहाज १३ घटनामा, पनामा र मार्सल आइल्यान्डका १०–१० तथा इरानका चार जहाज घटनामा परेका छन्। 

युद्ध सुरु भएदेखि जुनको मध्यसम्म औसत प्रत्येक दुई दशमलव तीन दिनमा एउटा घटना भएको थियो। यस अवधिमा १६ जनाको मृत्यु र १९ जना घाइते भएका थिए। घटनाहरू इराक, इरान, कतार, साउदी अरब, ओमान र संयुक्त अरब इमिरेट्सका तटीय क्षेत्रमा समेत भएका थिए। 

शान्ति वार्ता अघि बढिरहेका बेला जुलाई ७ सम्म घटनाको दर घटेर प्रत्येक चार दशमलव छ दिनमा एक पुगेको थियो। त्यस अवधिमा कुनै मानवीय क्षतिको विवरण आएको थिएन। तर, अधिकांश घटना ओमानको तटमा हर्मुजको साँघुरो जलमार्ग आसपास केन्द्रित थिए। 

वार्ता समाप्त भएपछि घटनाको दर फेरि बढेर औसत प्रत्येक दुई दशमलव आठ दिनमा एक पुगेको छ। यस अवधिमा चार नाविक वा कामदारको मृत्यु, १६ जना घाइते र एक जना बेपत्ता भएका छन्। 

विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण हर्मुजमा बढ्दो सुरक्षा घटनाले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा समेत जोखिम बढाएको छ। 

प्रकाशित: ९ भाद्र २०८३ १०:४२ मंगलबार